महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकास्थित लक्ष्मीनारायण मठका महन्त जगन्नाथ दास ‘वैष्णव’लाई प्रहरीले पक्राउ गरेको छ ।
मठमै पुगेर आज बिहान महोत्तरी र रुपन्देहीका प्रहरीले महन्त दासलाई पक्राउ गरेको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी बैंकबाट रुपैयाँ झिकेको आरोपमा महन्त दासलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
महन्त दासले किर्ते हस्ताक्षर गरी ७० लाख रुपैयाँ झिकेको आरोप छ । सो आरोपमा दासलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि रुपन्देही पठाइएको छ ।
साथै यस अघि मठको कैयौँ बिघा जग्गा बेचेको आरोप पनि उनीमाथि छ । यो विषयमा पनि उनीमाथि अदालतमा मुद्दा चलिरहेको छ ।