काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि थुनामुक्त हुने तयारीमा रहेका चार्ल्स शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा फैसला भएका दुईवटा मुद्दा भेटिएका छन् ।
बुधबार सर्र्बोचको आदेशपछि छुट्ने तयारीमा रहेका शोभराज विरुद्धको दुवै मुद्दा सरकारवादी फौजदारी मुद्दा रहेको अदालतका सूचना अधिकारीले जानकारी दिए ।
सूचना अधिकारीका अनुसार एक मुद्दामा शोभराजलाई २०८५ असोज १ सम्म कारागारमा राख्ने फैसला भएको छ । उनले ती मुद्दाका विषयमा थप जानकारी भने छानबिन पछि मात्र बताउन सकिने बताए ।
बुधबार सर्वोच्च अदालतले शोभराजलाई रिहाइ गरेर १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको थियो ।
सर्वोच्चको आदेशमा ‘अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने नभएमा निजलाई आजै कैदबाट छाडी दिन तथा आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन’ भनिएको छ ।