काठमाडौं । कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज जेलमुक्त भएका छन् । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले दिएको आदेशपछि बिहीबार उनी जेलमुक्त भएका हुन्।
व्यक्ति हत्याको आरोपमा जन्मकैद (२० वर्ष कैद) सजाय तोकिएपछि कैद सजाय भोग्दै आएका उनी १९ वर्ष जेल बस्दै बिहीबार छुटेका हुन् । यसअघि व्यक्ति हत्याको आरोपमा उनलाई २० वर्ष कैद सजाय सुनाइएको थियो । २०८० असोज १ गते शोभराज जेल बसेको २० वर्ष पुग्दैथियो । तर, उनले आफू वृद्ध र रोगी भएको र ७५ प्रतिशतभन्दा बढी कैद बसेकाले छुट्न पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
सोही रिटको सुनुवाइ गर्दै रिहा हुने आदेश दिएपछि उनी रिहा भएका हुन् । अब उनलाई फ्रान्स पठाइने छ । कारागारले अहिले शोभराजको स्वाथ्य जाँच गरिरहेको छ । केन्द्रीय कारागारका जेलर ईश्वरप्रसाद पाण्डेले अब उनलाई अध्यागमन कार्यालय पठाइने बताए । त्यसपछि उनलाई फ्रान्स पठाइने छ । कुख्यात अपराधीका रुपमा चिनिने शोभराज भारतको जेलबाट सन् १९८६मा जेलबाट फरार भएका थिए ।
फ्रान्सका पर्यटकहरूलाई विष दिएको अभियोगमा दोषी ठहर भएपछि सन् १९७६ मा शोभराजलाई भारतमा २१ वर्षको जेल सजाय सुनाइएको थियो । तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए ।
आफ्नो जन्मदिनमा उनले जेलभित्र भोज दिएका थिए । त्यसमा सुरक्षाकर्मीहरूलाई पनि निम्तो दिइयो । भोजमा बाँडिएको बिस्कुट र अङ्गुरमा निद्रा लाग्ने औषधि मिसाइएकाले खाने जति सबै जना अचेत भएपछि शोभराज र अरू केही कैदी तिहाड जेलबाट भागे ।
भारतीय पत्रपत्रिकामा प्रकाशित विवरणअनुसार उनले त्यतिबेला जेलको ढोकामा तस्बिर पनि खिचाएका थिए ।