काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनकाे सम्पूर्ण परिणाम आएकाे छ । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली अपनाएकाे नेपालमा प्रत्यक्षमा दलित, मुस्लिम, थारू लगायत समुदायकाे प्रतिनिधित्व न्यून छ भने खस आर्य समुदायकाे वर्चस्व देखिएकाे छ । राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीबाट यी समुदायकाे प्रतिनिधित्व सुनिश्चित गर्दै आएका छन् । संविधान जारी भएपछिकाे दाेस्राे आम निर्वाचनबाट महिला, दलित, मुस्लिम र थारू समुदायकाे प्रतिनिधित्व कस्ताे रह्याे भन्ने चासाेकाे विषय हाे ।
यसै सम्बन्धमा जानकारी दिन हामीले निर्वाचन आयाेगले सार्वजनिक गरेकाे समानुपातिकतर्फ निर्वाचित भएका उम्मेदवरहरूकाे विवरणका आधारमा याे सामग्री तयार पारेका छाैं । यसका लागि हामीले प्रतिनिधिसभा र प्रदेशसभाकाे समानुपातिक निर्वाचन प्रणालीबाट कुन राजनीतिक दलले दलित, मुस्लिम र थारू समुदायबाट प्रतिनिधिसभा र प्रदेशसभामा कति प्रतिनिधि पठाए भनेर खाेजी गरेका छाैं ।
प्रतिनिधिसभा
प्रतिनिधिसभाकाे समानुपातिकतर्फ दलित १५ जना अर्थात् १३.६४ प्रतिशत, थारू ६ जना अर्थात् ५.४५ प्रतिशत र मुस्लिम ६ जना अर्थात् ५.४५ प्रतिशत निर्वाचित भएका छन् । जसमध्ये दलित समुदायबाट नेपाली कांग्रेस र नेकपा एमालेले पाँच-पाँच, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई-दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक जना निर्वाचित गराएका छन् ।
राष्ट्रिय पार्टीकाे मान्यता पाएका अन्य दुई दल जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले भने समानुपातिकतर्फ दलित समुदायबाट एक जना पनि निर्वाचित गराएनन् । मुस्लिम समुदायबाट एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा, जसपा र जनमत गरी छ पार्टीले एक-एक जना निर्वाचित गराउँदा सात सिट जितेकाे राप्रपाले भने एक जना पनि निर्वाचित गराएकाे छैन ।
यसै गरी प्रदेश अनुसार समानुपातिक निर्वाचनमा यी समुदायकाे प्रतिनिधित्व कस्ताे रह्याे, त्याे पनि हेराैं ।
प्रदेश १
प्रदेश १ काे प्रदेशसभामा समानुपातिकतर्फ जम्मा ३७ सिट छ । त्यसमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले दलित समुदायबाट एक-एक गरी चार जनालाई निर्वाचित गराएका छन् । तीमध्ये तीन जना महिला छन् । त्यसै गरी प्रदेश १ मा नेकपा एमालेले मात्र एक जनालाई मुस्लिम समुदायबाट निर्वाचित गरेकाे छ भने थारू समुदायबाट कांग्रेस र एमालेले एक-एक गरी जम्मा २ जनालाई निर्वाचित गरेका छन् ।
यसरी यस प्रदेशसभामा समानुपातिकबाट जम्मा ४ जना दलित, एक जना मुस्लिम र २ जना थारू समुदायबाट निर्वाचित भएका छन् । प्रतिशतका हिसाबले दलित समुदायबाट १०.८१, थारू समुदायबाट ५.४१ र मुस्लिम समुदायबाट २.७० प्रतिशत प्रतिनिधित्व हुने भएकाे छ ।
मधेस प्रदेश
मधेस प्रदेशसभाकाे समानुपातिक अन्तर्गत ४३ सिटमध्ये दलित समुदायबाट कांग्रेसले २, एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एक-एक गरी जम्मा सात जनाकाे प्रतिनिधित्व भएकाे छ ।
त्यसै गरी मुस्लिम समुदायबाट जम्मा छ जनाकाे प्रतिनिधित्व भएकाे छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, जनमत पार्टी र नेपाल संघीय समाजवादी पार्टीबाट एक-एक जना निर्वाचित भएका हुन् । प्रदेशसभाकाे जम्मा समानुपातिक सिटमध्ये दलित र मुस्लिम समुदायकाे क्रमश: १६.२८ र १३.९५ प्रतिशत हाे । मधेस प्रदेशमा समानुपातिकबाट थारू समुदायकाे भने प्रतिनिधित्व भएकाे छैन ।
वाग्मती प्रदेश
वाग्मती प्रदेशसभाकाे ४४ समानुपातिक सिटमध्ये कांग्रेस र एमालेले एक-एक जना गरी जम्मा दुई जना मात्र दलित समुदायबाट निर्वाचित भएका छन् । यस प्रदेशसभामा मुस्लिम र थारू समुदायकाे प्रतिनिधित्व छैन । दलित समुदायकाे जम्मा ४.५४ प्रतिशत मात्र प्रतिनिधित्व भएकाे छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जम्मा २४ समानुपातिक सिट छ । त्यसमध्ये दलित समुदायबाट एमाले र कांग्रेसले दुई-दुई र माओवादी केन्द्रले एक जना गरी जम्मा पाँच जना निर्वाचित भएका छन् । याे भनेकाे प्रदेशसभाकाे समानुपातिकतर्फकाे २०.८३ प्रतिशत हाे । यहाँ पनि मुस्लिम र थारू समुदायकाे प्रतिनिधित्व भएकाे छैन ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशसभामा दलित समुदायबाट ४, थारू समुदायबाट ५ र मुस्लिम समुदायबाट २ जनाकाे प्रतिनिधित्व भएकाे छ । त्यसमध्ये दलित समुदायका कांग्रेसले दुई जना र एमाले र माओवादी केन्द्रले एक-एक जना निर्वाचित गराएका छन् । त्यसै गरी यी तीन दलले थारू समुदायबाट क्रमश: २, २ र एक जना निर्वाचित गराएका छन् । मुस्लिम समुदायतर्फ भने कांग्रेस र माओवादीले एक-एक जना निर्वाचित गराएका छन् ।
यस प्रदेशसभामा समानुपातिकतर्फ जम्मा ३५ सिट छ । प्रतिशतका हिसाबले यस प्रदेशसभामा दलित, थारू र मुस्लिम समुदायकाे क्रमश: ११.४२, १४.२९ र ५.७१ प्रतिशत प्रतिनिधित्व भएकाे छ ।
कर्णाली प्रदेश
याे प्रदेशसभामा समानुपातिकबाट जम्मा १६ जना निर्वाचित हुन्छन् । यसपालि यस प्रदेशसभामा समानुपातिकबाट मुस्लिम र थारू समुदायकाे प्रतिनिधित्व भएकाे छैन । दलित समुदायबाट भने एमाले कांग्रेस र माओवादीले एक-एक गरी तीन जनाकाे प्रतिनिधित्व भएकाे छ । याे भनेकाे जम्मा समानुपातिक सिटकाे २० प्रतिशत हाे ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा समानुपातिकबाट २१ जना निर्वाचित भएका छन् । त्यसमध्ये तीन जना दलित समुदायबाट छन् भने दुई जना थारू समुदायबाट छन् । एमाले, कांग्रेस र माओवादीले दलित समुदायबाट एक-एक जना निर्वाचित गरेका छन् । त्यसै गरी थारू समुदायबाट कांग्रेस र एमालेले एक-एक जना मात्र निर्वाचित गरेका छन् । समानुपातिककाे जम्मा सिट संख्याका हिसाबले यस प्रदेशसभामा दलित समुदायकाे १४.२९ र थारू समुदायकाे ९.५२ प्रतिशत प्रतिनिधित्व हुनेछ ।
समग्र प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट दलित समुदायबाट जम्मा २८ जना निर्वाचित भएका छन् । याे भनेकाे जम्मा २२० सिट संख्याकाे १२.७३ प्रतिशत हाे । त्यसै गरी थारू र मुस्लिम समुदायबाट ९-९ जना अर्थात् समान ४.०९ प्रतिशत हाे । त्यसै गरी प्रतिनिधिसभाकाे ११० र प्रदेशसभाकाे २२० गरी समग्र समानुपातिक सिट संख्या (३३०) का आधारमा हेर्ने हाे भने दलित समुदायबाट जम्मा ४३ जना अर्थात् १३.०३ प्रतिशत र थारू र मुस्लिम समुदायबाट १५-१५ जना अर्थात् समान ४.५५ प्रतिशत प्रतिनिधित्व भएकाे छ ।
*यो सामग्री नेपालचेक डट ओआरजीले तयार पारेको हो ।
*फिचरमा प्रयोग गरिएको तस्बिर नागरिक दैनिकबाट लिईएको हो ।