काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भेटवार्ता भएको छ ।
दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । नेता सिंहका सहयोगी युपी लामिछानेका अनुसार संसद्को ठूलो दल भएकाले पहिलो चरणमा कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर, जवाफमा प्रचण्डले कुनै हालत पहिले आफूले प्रधानमन्त्री पाउनु पर्ने अडान राखेका थिए ।
‘कांग्रेस संसदको ठूलो दल भएकाले स्वाभाविक रूपमा सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गर्दा उचित हुने प्रस्ताव नेता सिंहले राख्नु भएको थियो, तर प्रचण्डले देउवाले पहिले गठबन्धन सरकारको नेतृत्व गरिसकेकाले अहिले आफूले पाउनु पर्ने अडान राख्नु भयो,’ उनले भने, ‘प्रचण्डको त्यही सन्देश लिएर नेता सिंहले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेट गरिसक्नु भयो ।’
प्रचण्डलाई भेटेलगत्तै नेता सिंह सीधै बालुवाटार पुगेका थिए । कांग्रेसले कुनै हालतमा राष्ट्रपति नछाड्ने बरु प्रधानमन्त्रीमा खुला रहेको विकल्प गठबन्धन दललाई सुनाइसकेको छ ।