काठमाडौं । नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय घर्किंदै गएको छ। दलहरूलाई गत पुस ३ गते राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन् । त्यसयता दलहरूले संसदीय दल नेता चयन गर्ने, त्यसपछि मात्रै नयाँ सरकार गठनबारे छलफल गर्ने बताएका थिए । दलहरूले संसदीय दलको नेता चयन गरिसके तर को प्रधानमन्त्री बन्ने भन्ने विषय औपचारिक रूपमा छलफल नै गरेका छैनन् । तर, नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि ‘शक्ति बाँडफाँट’ गरेर जाने विषयमा लगातार छलफल भइरहेको छ ।
आम निर्वाचनले दिएको परिणामअनुसार पनि नयाँ सरकार गठनका विभिन्न विकल्प देखिएकाले एमालेले माओवादीसँग लगातार छलफल गरिरहेको छ । त्यसका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरुले लगातार माओवादीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । माओवादीबाट भने वर्षमान पुनले वार्ता जारी राखेको उच्च स्रोत बताउँछ ।
चुनावलगत्तै नेकपा एमालेका नेता विष्णु पौडेलले दाहाल निवास पुगेर प्रचण्डसँग छलफल गरेका थिए । त्यसपछि रघुबीर महासेठ, सुवास नेम्वाङ र योगेश भट्टराईले पनि माओवादीका अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेटेको स्रोतले बताए । “राष्ट्रपति र सभामुख लिएर तीनवर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका नेताहरु तयार हुनुभएको छ,” माओवादीका एक नेताले भने “प्रचण्डले सकेसम्म यही गठबन्धन जोगाएर पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्छ भन्नुभएको छ ।”
बिहीबार साँझ बालुवाटारमा गठबन्धनका तीन शीर्ष नेतासहित दलका नेताहरूबीच सरकार गठन गर्ने विषयमा सामान्य छलफल भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक घटनाक्रम र नयाँ सरकारबारे कुराकानी भएको हो।
कांग्रेस सभापति देउवा पुनस् प्रधानमन्त्री हुन चाहेका छन्। जनताको म्यान्डेट पनि कांग्रेस नेतृत्वमा सरकार गठन भएको जिकीर कांग्रेसको छ। कांग्रेसले प्रधानमन्त्री र सकेसम्म राष्ट्रपति पनि आफैँसँग राख्न खोजेको छ। प्रतिनिधि सभा संसदमा कांग्रेस ८९ सांसदसहित सबैभन्दा ठूलो दल छ।
नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्रीमा दाबी गरेको छ। आलोपालो सरकार गठनबारे ‘मौखिक समझदारी बनेकै हो’ भन्ने हिसावले माओवादीले प्रधानमन्त्री आफूले लिएर राष्ट्रपति कांग्रेसलाई राख्न भनेको माओवादीका एक नेता दाबी गर्छन्। अहिलेसम्म कांग्रेसले सरकारको नेतृत्व गरेकोले अब आफूले गर्न पाउनुपर्ने दाबी प्रचण्डको छ।