काठमाडौं । सर्वोच्च अदालतको बुधबारको आदेशपछि जेलमुक्त भएका कुख्यात अपराधी चार्ल्स शोभराज गुरुदेशमुख आजै फ्रान्स जाने भएका छन् ।
उनलाई अदालतले १५ दिनभित्र डिपोर्ट गर्न आदेश दिएको थियो । शोभराजले यो १५ दिन आफूलाई काठमाडौंमा खुला राख्न भनेका थिए ।
तर, अध्यागमन विभागले खुला नराख्ने भन्दै डिपोर्ट नहुँदासम्म अध्यागमनको थुनामा राख्ने अडान लिएको थियो ।
१५ दिनसम्म फेरि थुनामा बस्नुपर्ने भएपछि शोभराज आजै फ्रान्स जान लागेका हुन् । उनी बेलुका ६ बजेको उडानबाट फ्रान्स जाने बताइएको छ ।
यसैबीच शोभराजसँग उनकी श्रीमती निहिता विश्वास पनि फ्रान्स जान चाहेकी थिइन् । तर, शोभराजले उनलाई आफूसँग नलैजाने बताएका छन् ।
निहिताले आज शोभराजलाई भेटेर आफू पनि सँगै जान चाहेको बताएकी थिइन् । तर, शोभराजले उनलाई साथमा नलिने बताएका हुन् । जेलमै रहेका बेला निहिताले शोभराजसँग बिहे गरेकी थिइन् ।