गठबन्धन संकटतिर गयो : प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा जानुअघि आइतबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । उनले आफ्नै निवास, खुमलटारमा उपमहासचिवसम्मका पदाधिकारीलाई बोलाएका थिए ।

माओवादी नेताहरुको छलफल चलिरहँदा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि प्रचण्डलाई भेट्न आइपुगे । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर आएका निधिलाई भेटेपछि प्रचण्डले नेताहरुलाई सुनाए, ‘गठबन्धन संकटतिर गयो ।’ एक पदाधिकारीका अनुसार निधिले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न नसक्ने सन्देश सुनाएका थिए । उनले प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए ।

कांग्रेसबाट यस्तो प्रस्ताव आएको भन्दै प्रचण्डले प्रतिपक्षमा बस्ने कि अरु विकल्पमा जाने भनेर नेताहरुलाई सोधेका माओवादी केन्द्रका एक नेताले बताए । बैठकमा केही नेताले प्रधानमन्त्री पदकै लागि गठबन्धन तोडेको सन्देश जानु राम्रो नहुने बताएका छन् । राष्ट्रपति र सभामुख पद लिएर भएपनि गठबन्धन जोगाउनुपर्ने उनीहरुले सुझाव दिएका थिए । केही पदाधिकारीले भने कांग्रेसले धोका दिएको भन्दै विकल्प खोज्नुपर्ने धारणा राखेका थिए । ‘गठबन्धन जोगाउन प्रयास गरौं, कांग्रेससँग फाइनल कुरा गर्ने भनेर नेताहरु बालुवाटार जानुभएको छ,’ ती पदाधिकारीले भने, ‘के हुन्छ भन्न सकिन्न ।’

TATA ADD