नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री, माओवादीबाट अन्य को-को मन्त्री बन्दै छन् ?

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ ।

बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले भने, ‘चार बजे शपथ छ, हाम्रो पार्टीका तर्फबाट हाम्रो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा जानुहुन्छ । उहाँ उपप्रधानमन्त्री हो नै, मन्त्रालय के हुन्छ भन्ने विषयमा ११ बजे छलफल हुन्छ ।’ ११ बजे सत्ता गठबन्धनको बैठक बस्दै छ ।

माओवादीबाट को–को मन्त्री बन्ने भन्ने कुरा पनि टुंगिन बाँकी रहेको महराले बताए । माओवादी पदाधिकारी बैठककै बिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए । कांग्रेसका अन्य नेताले पनि फोन गरेर बधाई दिएको महराले जानकारी दिए।

अन्य को को मन्त्री बन्दैछन् ?
स्रोतका अनुसार माओवादीबाट अमनलाल मोदी र सुदन किराँती पहिलो चरणमा मन्त्री बन्ने सम्भावना छ । उनीहरू प्रदेश १ का हुन् । यस्तै बागमतीका हितबहादुर तामाङ र सूर्यमान दोङमध्ये एक जना पनि मन्त्री बन्ने सम्भावना छ ।

दाङबाट एमाले महासचिव शंकर पोखरेललाई हराएर निर्वाचित रेखा शर्माको नाम पनि मन्त्री बन्ने सूचीमा राखिएको माओवादी स्रोतले बताएको छ । गण्डकीबाट हितराज पाण्डे र कर्णालीबाट महेन्द्रबहादुर शाहीको सम्भावना पनि धेरै छ ।

जनार्दन शर्मा र वर्षमान पुन पनि शक्तिशाली मन्त्रालयका दाबेदार छन् । तर उनीहरूमध्ये यसपटक प्रचण्डले एक जनालाई मात्रै मन्त्रिपरिषद्‌मा सहभागी गराउने मनसाय बनाएको र त्यसमा वर्षमानको सम्भावना अधिक रहेको माओवादी स्रोतको भनाइ छ ।