काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शीतल निवासमा अपराह्न ४ बजे शपथ समारोहको आयोजना हुँदैछ ।
प्रधानमन्त्रीमा प्रचण्डको शपथसँगै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ । पहिलो चरणमा सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाउन अहिले माओवादी केन्द्रको बैठक बस्दैछ ।
स्रोतका अनुसार माओवादीबाट अमनलाल मोदी र सुदन किराँती पहिलो चरणमा मन्त्री बन्ने सम्भावना छ । उनीहरू प्रदेश १ का हुन् । यस्तै बागमतीका हितबहादुर तामाङ र सूर्यमान दोङमध्ये एक जना पनि मन्त्री बन्ने सम्भावना छ ।
दाङबाट एमाले महासचिव शंकर पोखरेललाई हराएर निर्वाचित रेखा शर्माको नाम पनि मन्त्री बन्ने सूचीमा राखिएको माओवादी स्रोतले बताएको छ । गण्डकीबाट हितराज पाण्डे र कर्णालीबाट महेन्द्रबहादुर शाहीको सम्भावना पनि धेरै छ ।
जनार्दन शर्मा र वर्षमान पुन पनि शक्तिशाली मन्त्रालयका दाबेदार छन् । तर उनीहरूमध्ये यसपटक प्रचण्डले एक जनालाई मात्रै मन्त्रिपरिषद्मा सहभागी गराउने मनसाय बनाएको र त्यसमा वर्षमानको सम्भावना अधिक रहेको माओवादी स्रोतको भनाइ छ ।