काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी र लाइसेन्स लिने क्रममा सर्वसाधारणले सास्ती खेपेको उल्लेख गर्दै लामा लाइन हटाउने बताएका छन् ।
मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले राहदानी र लाइसेन्स लिने क्रममा देखिएको लामो लाइनलाई नियन्त्रण गर्न र हटाउने विषयमा काम गर्ने बताए ।
‘राहदानी, लाइसेन्ससम्बन्धी लामो लामो लाइन देखिएको छ । यसलाई नियन्त्रण गर्ने र प्रभावकारी ढंगले काम गर्ने केन्द्रित भएका छन् । जनताको समस्या समाधान गर्न काम गर्नेतर्फ काम गर्ने छौं’ दाहालले भने । मन्त्रिपरिषद्को पहिलो बैठकअघि दाहालले सोमबार साँझ सिंहदरबारमा पदवहाली गरेका थिए ।
दाहालले पदभार ग्रहण गर्दै ‘सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णय’मा हस्ताक्षर गरेका छन् ।