काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।
कार्यविधिमा के छ ?
नयाँ कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीबाट दुई र सशस्त्रबाट १६ गरी १८ सुरक्षाकर्मी खटिनेछन् ।
अहिले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र प्रचण्डको सुरक्षामा ५० भन्दा धेरै सुरक्षाकर्मी छन् । उनीहरूको सुरक्षामा खटिएकालाई भने तत्काल फिर्ताका लागि प्र्रक्रिया अघि नबढेको स्रोत बताउँछ । पूर्वप्रधानमन्त्रीले आजीवन सुरक्षा पाउने व्यवस्था छ ।
पूर्वगृहमन्त्रीको हकमा १० वर्षसम्म दुई सुरक्षाकर्मी दिने व्यवस्था कार्यविधिमा छ । त्यस्तै, पूर्वसुरक्षा अधिकारीहरूले पनि सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने हुन्छ । पूर्वआइजिपीले मात्रै दुईजना सुरक्षाकर्मी पाउने व्यवस्था कार्यविधिमा छ । त्यसबाहेकका अवकाशप्राप्त प्रहरी अधिकारीले लिइरहेको सुरक्षाकर्मी तथा सहयोगीको सुविधा नयाँ कार्यविधिमा कटौती गरिएको छ । हाल आइजिपीका साथै एआइजी र डिआइजीले समेत अवकाशपछि सुरक्षाकर्मी लिने गरेका छन् ।