सभामुखमा तीन जना आकांक्षी, कसको सम्भावना कति ?

दियो पोस्ट  

काठमडौं । नेकपा (एमाले) र माओवादी केन्द्रबीच नयाँ समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै मुलुकको राट्रपति र सभामुख को बन्ला, भन्ने चासोका साथ हेरिएको छ ।

नेपाली काँग्रेससहितको पाँच दलिय गठबन्धन छाडेर नेकपा एमालेसहितको ७ दलिय गठबन्धन बनाएका माओवादी केन्द्रले भागबण्डामा प्रधानमन्त्री पाएको थियो भने नेकपा एमालेले राष्ट्रपति र सभामुख पाएको छ ।

राष्ट्रपतिका लागि नेकपा (एमाले)बाट सुवास चन्द्र नेम्वाङर अष्ठलक्ष्मि साक्य र युवराज ज्ञवालीको नाम चर्चामा छ । त्यस्तै एमालेको भागमा परेको सभामुखमा पनि तीन जनाको चर्चा सुरु भएको छ । एमाले सचिव छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य जुली महतो र केन्द्रीय सदस्य विद्या भट्टराई भावी सभामुखको चर्चामा छन् ।

पोर्टफोलियोको हिसाबले विश्वकर्मा सबैभन्दा अगाडि छन् । उनी सचिव हुन् भने महतो पोलिटब्युरो सदस्य र भट्टराई केन्द्रीय सदस्य । विश्वकर्मा पार्टीमा लामो समय योगदान गरेका, विभिन्न कमिटीमा बसेर काम गरेकाले उनी बढी अनुभवी छन् । विश्वकर्मा यो चुनावमा प्रत्यक्षमा जित्ने एक मात्र दलित सांसद पनि हुन् । उनी सभामुख हुने सम्भावना बढी रहेको बताइन्छ । विश्वकर्मा सभामुख भए नेपालको संसदीय इतिहासमा पहिलो दलित नेता सभामुख हुने रेकर्ड पनि बन्नेछ ।

तर, भट्टराई एक पटक उपसभामुखको उम्मेदवार बनेर पराजित भएकी नेतृ हुन् । जसका कारण उनलाई एमालेले योपटक अवसर दिने सम्भावना पनि उत्तिकै छ । गत असारमा भएको उपसभामुख चुनावमा एमालेबाट उम्मेदवार बनेकी भट्टराई कांग्रेसकी पुष्पा भुसाल गौतमसँग पराजित भएकी थिइन् । विद्यार्थी राजनीतिबाट स्थापित नेतृ हुन् भट्टराई । तर, त्यसपछि उनी प्राध्यापनमा लागेकाले लामो समय राजनीतिबाट टाढिइन् । तर, श्रीमान् तथा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको दुर्घटनामा परेर मृत्यु भएपछि भट्टराई राजनीतिमा फर्किएकी हुन् ।

भट्टराईले अधिकारीको मृत्युपछि भएको उपनिर्वाचनमा कास्कीबाट जित निकालेकी थिइन् । उनी यसपटक पनि कास्की २ बाट निर्वाचित भएकी हुन् । त्यस्तै महतोको नाम पनि भावी सभामुखको रूपमा चर्चामा छ । उनी पनि धनुषाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पार्टीको उपल्लो तहमा राम्रो पहुँच राख्ने नेतृमा उनी पनि पर्छिन् । सोही कारण रघुवीर महासेठ र महतो (श्रीमान्-श्रीमती) पालैपालो मन्त्रीसमेत भइसकेका छन् । एमाले मधेश प्रदेश इन्चार्ज रहेका रघुवीर महासेठ महतोका श्रीमान् हुन् । उनीहरू दुवै जनाले प्रत्यक्षतर्फ चुनाव जितेका छन् । महोठ एमालेको सचिवसमेत हुन् ।

सरकार गठन भएको छ । संसद बसेको १५ दिनमा सभामुख चयन गर्नुपर्ने छ । सोहीकारण एमालेले पहिला सभामुखको उम्मेदवार तयार गर्नुपर्ने छ । अहिले एमालेमा चर्चामा रहेका जुन व्यक्ति भए पनि सभामुख पद उनीहरूका लागि नयाँ हुनेछ । उनीहरूले समन्वयकारी भूमिका खेल्नुपर्ने ठाउँमा पुग्नेछन् ।