बाँकेकी निमर्ला कुर्मीको न्यायका लागि काठमाडौं माइतीघरमा तेस्रो चरणको अन्दोलन

निर्मला कुर्मीको घटना के हो ?

दियो पोस्ट  

काठमाडौं । निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा महिला अधिकार मञ्च बाँकेले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । दिउँसो १ बजे कलंकीबाट आन्दोलनकारीहरु जुलुसहित माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेको हो ।

बिहिबार दिउँसो ४ बजे माइतिघर मण्डलामा पत्रकार सम्मेलन गर्दै मञ्चले निर्मला कुर्मी सहित अन्यायमा परेका महिलाहरुले न्याय पाउनुपर्ने बताँउदै चार बुँदे माग राखेको हो । सरकारले गठन गरेर बुझाएको प्रतिवेदनअनुसार बाँके प्रहरीले निर्मला कुर्मी बेपत्ता, अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेका हुन् ।

‘न्यायका लागि कलम चलाउनुस् सरकार’ भन्दै उनीहरु जिल्ला प्रशासन कार्यालयमा अनिश्चितकालीन धर्ना दिएका थिए । उनीहरुले न्यायका लागि पहिलो चरणको आन्दोलनमा नेपालगञ्जदेखि काठमाडौँसम्म २० दिन पैदल यात्रा गरेका थिए । सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएपछि प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एकजना वृद्धलाई तारेखमा राखेको छ ।

साथै मुद्दामा मुख्य अभियुक्त भनिएका नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद बादशाह कुर्मीलाई प्रहरीले पक्राउ गर्नुको साटो संरक्षण गरेको मञ्चले बताउँदै आएको छ ।

के हो निर्मला कुर्मीको घटना ?

निर्मला कुर्मी बाँके जिल्लाकी महिला हुन् । उनको श्रीमान र छोराहरूको मृत्यु भएपछि बाँके क्षेत्र नम्बर ३ को प्रदेश सभा २ बाट निर्वाचित सांसद् बादशाह कुर्मीले सम्पत्तिको लागि उनीमाथि ज्यादती गरेको भन्ने आरोप छ । साथै सांसद् बादशाहकै नेतृत्वमा निर्मलाको अपहरण तथा शरीर बन्धकपछि हत्या गरिएको भन्ने आरोप थियो ।

२०६२ सालमा निर्मलाले श्रीमान् महालु कुर्मी गुमाएकी थिइन् । त्यती मात्र नभई २०६६ सालमा निर्मलाका दुई छोराहरु राम सागर र सुरेशको १५ दिनकै अन्तरमा मृत्यु भएको थियो । नेपालमा श्रीमान् र छोराहरुको मृत्युपछि एक्ली भएकी उनीप्रति समाज व्यवहारमा फरकपन आयो । त्यो दुर्व्यवहार गर्ने मध्यमा पूर्व सांसद कुर्मीसमेत थिए ।

सांसद कुर्मीले सम्पत्तिकै लागि दुर्व्यवहार गरेको पछि पुष्टि भएको थियो । उनले निर्मलासँग उनका लोग्ने र छोराको नाममा रहेको ५ बिगा जग्गाको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धि कागजपत्र लिएका थिए । बादशाहको बढ्दो बर्बता र दुर्व्यवहारविरुद्ध लड्नका लागि निर्मलाले १८ माघ, ०६६ मा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रमा निवेदन दिएकी थिइन् । निर्मलाले आफूविरुद्ध जिल्लामा सबैतिर उजुरी गर्न थालेको थाहा पाएपछि पूर्व सांसद कुर्मी गाउँ पुगेर २० माघमा निर्मलामाथि सार्वजनिक स्थानमै दुर्व्यवहार गरेका थिए ।

बादशाहसहित ४र५ जनाको समूहले निर्मलालाई अपहरण शैलीमा नियन्त्रणमा लिए कुटपिट गरे । घिसारेर आफ्नै घर पुर्याए । अर्को दिन मात्रै प्रहरीले कुर्मीको घरबाट निर्मलाको उद्धार गरेको थियो । पूर्व सांसद र समाजको दुर्व्यवहारको हल्ला चौतर्फी फैलिन थालेपछि निर्मलाको न्यायका लागि विभिन्न क्षेत्रहरुमा आन्दोलन हुन थालेको थियो ।

त्यसलगत्तै उनी बेपत्ता भएको बताइन्छ । २०६६ सालदेखि बेपत्ता भनिएकी निर्मलाको करोडौँ पर्ने जग्गा हिनामिना भएको थियो । कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या गरिएको भन्दै २० चैत २०७७ मा ८ जनाविरुद्ध महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालका नामबाट आरोपमा बादशाह कुर्मी, रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, कुवर बब्बन सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । ९ महिना बित्दा पनि प्रहरीले उनीहरूलाई पक्राउ गर्न नसकेपछि न्यायको खोजीका लागि भन्दै महिला अधिकारकर्मीहरू नेपालगञ्जबाट २० दिन पैदल हिँडेर न्याय माग्दै काठमाडौँ आइपुगेका थिए ।

सरकारले महिला अधिकारकर्मीमध्येकै रुवी खानसँग वार्ता गर्यो । गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको थियो । छानबिन समितिको अनुसन्धानपछि निर्मला कुर्मीले भारतमा विवाह गरेको खुल्न आएको छ ।प्रहरीको अनुसन्धानले उनले भारतीय नागरिक अर्जुनसँग विं.सं. २०६९-०७० सालतिर नै विवाह भएको प्रमाण फेला पारेको छ । प्रहरीको अनुसन्धानबाट श्रीमानको र छोराहरूको मृत्युपछि एक्लिएकी निर्मलाले समाजबाट खेप्नु परेको बर्बता र दुर्व्यबहारबाट उन्मुक्ति पाउनको लागि भारतमा विवाह गरेको पाइन्छ । त्यस्तै, नेपालगञ्ज–१७ परस्पुरकी बेपत्ता निर्मलाको साढे ४ बिघा घर जग्गा भूमाफियाले कीर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो ।

गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मी नेतृत्वले गृह मन्त्री बालकृष्ण खाँणसमक्ष प्रतिवेदन बुझाएको थियो । निर्मलाको जग्गा भूमाफियाले चलखेल गरी हडपेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार प्रहरीले सोमबार ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कृष्णमुरारी सिंह, उर्मिला कनौनिया, अमरलाल कुर्मी, विरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंह छन् । बबनलाई भने अदालतले ८० वर्ष उमेर पुगेकाले छाडेको छ । यद्यपि, पूर्वसभासद बादसाह कुर्मी यसअघि नै हाजिर भएर छुटेकाले पक्राउ परेका छैनन् ।