समस्याग्रस्त घोषणा हुँदै गरेको श्री लालीगुराँस सहकारीलाई सहकारी बैंकले ८ करोड ऋण दिन प्रपञ्च !

दियो पोस्ट  

काठमाडौं । बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरि सम्पर्क विहिन भएका श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सहकारी बैंकबाट समेत ऋण अपचलन गर्ने तयारी गरेका छन् ।

सहकारी बैंकका अध्यक्ष केवी उप्रेतिको मिलेमतोमा सहकारी बैंकले ८ करोड रुपैयाँ भन्दा बढी रकम भण्डारीको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमा लगानी गर्ने तयारी गरेको हो । बैंक स्रोतका अनुसार भण्डारीले ऋणका लागि फाइल पेश गरेका छन् । तर, उनीसँग करचुक्ता लगायत कुनै पनि सरकारी कागजात छैन । यतिसम्मकी वार्षिक प्रतिवेदन र अडिट रिपोर्ट समेत नभएपछि बैंकका कर्मचारी ऋण दिन अस्विकार गर्दै आएका छन् । तर, सहकारीका अध्यक्ष उप्रेतिले भण्डारीलाई ऋण दिन पटक पटक दबाव दिँदै आएको स्रोतको भनाई छ ।

सहकारीले वचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि यतिबेला प्रति व्यक्ति छ हजार रुपैयाँको दरले बाँढ्दै आएको छ । तर, त्यो पनि पछिल्लो समय बन्द भएको सहकारी स्रोत बताउँछ । केही पीडितहरुले विभागमा उजुरी दिएपछि भण्डारी उक्त व्यावहार मिलाउने नाममा सहकारी बैंकको पैसा निकाल्ने दाउमा लागेका हुन् । विभाग स्रोतका अनुसार उनी विरुद्ध पछिल्लो समय ५० जनाभन्दा पीडितले उजुरी दिएका छन् ।

विभागले छिट्टै समस्याग्रस्त घोषणा गर्ने तयारी गरिरहेको छ । तर, समस्याग्रस्त घोषणा हुन मात्रै बाँकी रहको सहकारीलाई बैंकले किन यतिका रकम ऋण दिन लागेको हो भन्ने आश्चर्य कर्मचारीमा समेत छ ।

त्यसो त कुनै समय नेपालमा अर्को सहकारी बैंक आवश्यक छ भन्दै भण्डारीले नेपाल सहकारी बैंक नै बनाएका थिए । सहकारी बैंकको कार्यालय उद्घाटन समेत गरिएको थियो । तर, केही बचतकर्ताको लाखौँ रकम कुम्लाएर सहकारी बैंक कोल्याप्स भएको छ । भण्डारीले बहुउद्देश्यीय सहकारी संघको २५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

यस विषयमा प्रतिक्रिया लिन दियोपोस्टले सहकारी बैंकका सिइओ बद्रि गुरागाइँलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । अध्यक्ष केवी उप्रेतिले पनि फोन उठाएनन् ।