नक्कली भुटानी शरणार्थी प्रकरण: धरौटीमा छुट्ने आदेश भएकामध्ये ३ जनाले बुझाए पत्र

नक्कली शरणार्थी प्रकरण

दियो पोस्ट  

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा छुट्ने आदेश भएकामध्ये ३ जनाले धरौटी बुझाएको पत्र केन्द्रीय कारागार पुगेको छ ।

धरौटी बुझाउनेहरू हरिभक्त महर्जन, शमशेर मिया र नरेन्द्र केसी रहेका छन् । यस्तै साधारण तारेखमा छाड्ने आदेश भएका आशिष बुढाथोकी पनि आइतबार नै छुट्दैछन् । रामशरण केसीले अदालतमा धरौटी बुझाउने तयारी गरिरहेको बुझिएको छ । सन्दीप रायमाझीको भने बैङ्क ग्यारेन्टी राख्ने प्रकृयाका कारण आइतबार बुझाउने सम्भावना कम रहेको बुझिएको छ ।

यसअघि काठमाडौं जिल्ला अदालतबाट मुद्दा पुर्पक्षका लागि थुनामा गएकामध्ये नरेन्द्र केसी र शमशेर मियाँसँग १०/१० लाख तथा टेकनाथ रिजाल र हरिभक्त महर्जनसँग १५/१५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । यस्तै सन्दीप रायमाझीलाई ३० लाख र रामशरण केसीलाई १५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो ।

उनिहरू जिल्लाको आदेशविरुद्ध पुनरावेदन गर्दै उच्च अदालत पुगेका थिए । थुनामा रहेका ९ जनालाई भने उच्च अदालतले छाड्न मानेन । बालकृष्ण खाणको हकमा न्यायधीशबीच राय बाझिएपछि फेरि सुनुवाइ हुँदैछ ।