
मंसिर–१८,बुटबल । रुपन्देहीको बुटबल क्षेत्रभित्रका सामुदायिक बिद्यालयमा अध्ययनरत दलित समुदायका बिद्यार्थीलाई छात्रबृत्ति बितरण गरिएको छ । समाजसेवी इन्द्रमती बिश्वकर्माको स्मृतिमा ‘इन्द्रज्योति बिश्वकर्मा कल्याण संघ’द्वारा ४१ जना दलित समुदायका बिद्यार्थीलाई छात्रबृत्ति बितरण गरिएको हो ।
जिल्लामा रहेका गरिब तथा आर्थिक अवस्था कमजोर भएका बिद्यार्थी पहिचान गरि जनही पाँच हजार रुपैयाँका दरले छात्रबृत्ति बितरण गरिएको संघका अध्यक्ष दिपक बिश्वकर्माले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै बुटबल उपमहानगर पालिकाका उप–प्रमुख साबित्रादेबी अर्यालले स्वर्गीय समाजसेवी इन्द्रमती बिश्वकर्माको योगदानको कदर गर्नु भयो । जातीय बिभेद अन्त्य र समाज परिवर्तनका क्षेत्रमा बिश्वकर्माको पहल अतुलनीय रहेको भन्दै उहाँले हरेक ब्यक्ति र परिवारले परिबर्तनका लागि आ–आफ्नो क्षेत्रबाट पहल गरेको खण्डमा परिवर्तन सम्भब रहेको बताउनु भयो । भोको पेटले शिक्षा प्राप्ती नहुने भन्दै उहाँले भन्नु भयो– ‘नाना, छाना र खानाको समस्या हल नभएसम्म शिक्षामा परिवर्तन ल्याउन सकिदैन । यसका लागि राज्यले गरिबी अन्त्यका कार्यक्रम ल्याउनु पर्छ ।’
उप प्रमुख अर्यालले दलित, गरिब र पिछडिएका क्षेत्रका बिद्यार्थीलाई शिक्षामा प्रोत्साहन गर्न बुटबल उपमहानगर पालिकाले समेत बिभिन्न कार्यक्रम ल्याएको जानकारी दिनु भयो ।
कार्यक्रममा बुटबल सुनचाँदी ब्यवशायी संघका अध्यक्ष गकुल बिश्वकर्माले समाजको सबैभन्दा पीँधमा पारिएको समुदाय दलित भएको र आर्थिक अभावका कारण शिक्षामा पहुँच हुन नसकेका कारण दलित समुदाय झनै पछाडी परेको औँल्याउनु भयो । उहाँले भन्नु भयो,–‘दलित समुदायका बिद्यार्थीलाई शिक्षामा लगानी गर्नु भनेको समाज परिवर्तनका लागि इट्टा थप्नु हो ।’
सो अवसरमा दुइ लाख, पाँच हजार रुपैयाँ बराबरको छात्रबृत्ति बितरण गरिएको थियो । कार्यक्रममा बिभिन्न राजनीतिक दल सम्बद्ध ब्यक्तित्व, ब्यवशायी, बिद्याथी, अभिभावक तथा जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

