
काठमाडौं । पत्रकार लक्ष्मी पौडेल र लेखक नारायण नेपालले विवाहमा हुने खर्च कटाएर विद्यालयमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । मंसिर १८ गते नुवाकोटका नारायण नेपाल र नवलपरासीकी लक्ष्मी पौडेलले विनातामझाम परिवारको रोहवरमा विवाह गरे ।
लक्ष्मीले आफूले प्राथमिक शिक्षा अध्ययन गरेको पर्वतको विहादीस्थित जनता आधारभूत विद्यालय र नेपालले नुवाकोट बेलकोटगढीस्थित आफ्नो स्वर्गीय बुबा ढुण्डीराज नेपालको पहलमा स्थापना भएको मालिका माध्यमिक विद्यालयमा ५०–५० हजारबराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।
पछिल्लो समय भड्किलो बन्दै गएको विवाहलाई सुधार्नुपर्ने बताउँदै दुवैजनाले सरल तरिकाले विवाह सम्पन्न गरे । न महँगा कपडा न झकिझकाउ गरगहना । मात्र माला र टीका लगाएर दुई परिवार एक भएको घोषणा गरे ।
‘अर्थतन्त्र ओलालो लाग्यो पनि भन्ने उनि अनुत्पादक क्षेत्रमा खर्च गर्नपनि नछोड्ने , यसले हाम्रो अवस्था सुधार हुँदैन त्यसैले हामीजस्तो युवाहरुले खर्च कटौती गर्न आवश्यक छ सबैले आफ्नो ठाँउबाट सोच्ने हो हामीले हाम्रो ठाँउबाट सोच्यौँ’, नेपालले भने ।