
काठमाडौं । नागढुंगामा स्थानियबासीलाई प्रहरीले हस्तक्षेप गरेको छ । शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहानदेखि स्थानीयले सडक अवरूद्ध गरेका थिए। सडक अवरुद्ध पारेपछि अहिले पृथ्वीराजमार्ग ठप्प छ । सोही सडक खुलाउने क्रममा स्थानियबासी र प्रहरीबीच झडप भएको हो ।
प्रहरी हस्तक्षेपमा स्थानिय चन्द्रागिरी वडा नम्बर २ का वडाध्यक्ष भाईकृष्ण तामाङ घाइते भएका छन् । उनी विरामी भएपनि प्रहरीले पक्राउ गरेर कालिमाटी लिएर गएको छ । उनीसहित केही स्थानियलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले दमन गरेरै दुवै तर्फ यातयात संचालन गरेको स्थानियबासीले बताएका छन् ।
शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका ३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३– ०१–००६ ख १३०८ नम्बरको ट्रक डिब्बा गाडीले ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी २ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए।