
काठमाडौं । स्थानीय एक व्यक्तिको जग्गा गैरकानुनी र किर्ते गरेर हत्याएको विषय सार्वजनिक भएपछि धादिङ्गको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाको आलोचना बढ्दो छ । सहकारीले स्थानीय मेघराज पोखरेलको ११ रोपनी जग्गा हत्याउन विभिन्न किर्ते कागजात तयार पारेको विषयमा दियोपोस्ट डटकमले समाचार प्रकाशन गरेको थियो । प्रकाशित समाचारलाई लिएर नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति नै निकालेको छ । पार्टीका जिल्ला सेक्रेटरी प्रमोद सिले जारी गरेको विज्ञप्तिमा पीडितको पक्षमा आफूहरु रहेको बताउँदै सहकारीलाई कारबाही गर्ने चेतावनी दिइएको छ ।
दियोपोष्ट डटकमले मंसिर १५ गते धादिङमा सहकारीको आवरणमा घरजग्गा खाने ‘गिरोह’: किर्ते गरेर करोडको जग्गा कब्जा’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो । मेघराज पोखरेलले दियोपोस्टलाई दिएको बयान अनुसार उनले उक्त सहकारीबाट ३५ लाख रुपैयाँ ऋण लिएका थिए । लिएका ऋण मध्ये ३२ लाख ३८ हजार तिरिसक्दा पनि ऋणीलाई थाहा नै नदिई विभिन्न किर्ते कागजात तयार पारेर जग्गा र गाडी लिलाम गरिएको हो ।
धादिङ नीलकण्ठ नगरापालिका–३ मा रहेको श्रोत परिचालन सहकारी संस्थाले समाचारको खण्डन गरि विज्ञप्ति प्रकाशित गरेको थियो । लगतै मेघराज पोखरेलले आफूले दिएको सम्पूर्ण प्रमाणसहित भएको र मलाई सहकारीले लुटेको हुँदा म सहि भएको भिडियो कुराकानीमा बताएका थिए ।
‘श्रोत परिचालनले अनेकौ सौधाबाजी गरेपनि अहिले सर्वत्र निन्दा हुन थालेको छ । मिति २०८० मंसिर २३ गते नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति धादिङले प्रकाशित विज्ञप्तिमा पीडित मेघराज पोखरेल र श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थालाई संवाद र छलफल गरि उचित प्रकारको समस्या समाधानको निमित अनुरोध गर्दैछौ भनिएको छ । यदी कुनै पनि वित्तीय संस्थाले समस्या समाधान भन्दानी एकलौटी रुपमा पेलेर गएमा नेपाल कम्युनिष्ट पार्टी सधै उत्पीडित जनताको पक्षमा दृडतापूर्वक उभिने छौँ,’ विज्ञप्तिमा भनिएको छ ।