
काठमाडौं । स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि भनेर सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद स्थापना गरेको छ । स्थापनाको ३२ वर्ष भएको यो परिषदबाट हालसम्म भएगरेका उपलब्धी त आम जनताले थाहा पाएका छैनन् नै कार्यालयकै हरिविजोगबारे भने एउटा उजुरीले स्पष्ट पारेको छ । स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्ने निकायमा विषय विज्ञ समेत नरहेको तथ्य फेला परेको छ । यो विषयमा संसदको शिक्षा, विज्ञान तथा सुचना प्रविधि समितिमा समेत उजुरी परेको छ । सोही उजुरीले यो तथ्य देखाएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् सुधार समितिका तर्फबाट संसदीय समितिमा उजुरी दर्ता गरेको हो ।
विगत ३२ वर्षदेखि सञ्चालनमा आएको यस स्वास्थ्य अनुसन्धान परिषद्मा जम्मा ८४ जनाको मात्र स्थायी दरबन्दी रहेको छ । हरेक वर्ष ६२ जना स्थायी दरबन्दीको लागि राज्यबाट लगानी छुट्याएपनि लोकसेवा आयोगले भर्ना नखोलिदिँदा दरबन्दीको लागि राज्यले दिएको रकम राज्यकोषमै फिर्ता हुने गरेको छ ।

‘‘रोगहरुका प्रकृति र प्रकोपको प्रभाव बढेसँगै विश्व स्वास्थ्य अनुसन्धान क्षेत्रमा तीव्र विकास भएको छ । अत्याधुनिक ल्याव विशिष्ठकृत मानव संसाधन, वैज्ञानिकहरु, लाईब्रेरी, जर्नल, कम्प्युटरको प्रयोगले आज गुणस्तरीय स्वास्थ्य अनुसन्धान तर्फ विश्वले यात्रा गरेको छ । विश्वमा राज्यले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको हुन्छ । स्वास्थ्य सेवा प्रदान गर्दा विश्वसनियता अनिवार्य गरेको हुन्छ । तर नेपालमा भने करारका केही कर्मचारीलाई नियुक्त गरेर स्वास्थ्य क्षेत्रको अनुसन्धान गरेको पाइन्छ,’ उजुरीमामा भनिएको छ ।
उजुरीमा जनाइए अनुसार परिषदमा जम्मा ८४ जनाको स्थायी दरबन्दी छ । जसमध्ये ८४ स्थायी दरबन्दी मध्यका प्राविधिक २२ जना अनुसन्धान अधिकृत पद अर्थात सातौँ तहका छन् । र चार जना बरिष्ठ अनुसन्धान अधिकृत आठौँ तहका छन् । जसमा हाल १ जना अनुसन्धान अधिकृत र एक् जना बरिष्ठ अनुसन्धान अधिकृतबाट मात्रै कार्य भइरहेको उजुरीमा उल्लेख छ । तर, ती दुवै जना विषय विज्ञ नरहेको समेत उजुरीमा उल्लेख छ । उजुरीमा जनाइए अनुसार एक जना समाजशास्त्रका विद्यार्थी हुन् । अर्का एक जना भने वातावरण विज्ञानका विज्ञ छन् । यस्तो विशुद्ध प्राविधिक संस्थानमा ९५.२३ प्रतिशत प्रशासनिक कर्मचारी र ४.७६ प्राविधिक अनुसन्धानको विज्ञ राखेको उजुरीमा जनाइएको छ ।
अनुसन्धानका लागि करारका कर्मचारीलाई ६÷६ महिनामा अवधी थप्नु पर्ने एउटा समस्या भएको छ । करारमा रहेका अनुसन्धान कर्मचारीहरु राम्रो अवसरको खोजिमा हुँदा अन्यत्र अवसरको खोजिमा छिटोजाने भएकोले अनुसन्धानमा समेत ठूलो क्षति पुगेको उजुरीमा उल्लेख छ ।
हाल लोकसेवा आयोगले यस परिषदका निम्ति विज्ञापन गरेको छैन । विगतमा करार सेवामा कार्यरत कर्मचारीलाई नै प्रकृया मार्फत स्थायी गरिए राम्रो जनशक्ति बाहिर जाने थिएन । कर्मचारी प्रशासन नियमावलीलाई हेर्ने हो भने । निययमावली २०७९ को नियम ३३ विनियम १ को व्यवस्थामा परिषद सेवामा कुनै पनि पदमा स्थायी कर्मचारीको नियुक्ति गरेरमात्र सेवा प्रवाह गर्नु पर्ने स्पष्ट व्यवस्था गरेको छ ।