काठमाडौं । समाजमा रहेका रुढीवाद र विभेदका विरुद्ध आम संचार माध्यमले खरो आवाज उठाउँदै आएका छन् । तर, नेपालमा भने एक दैनिक पत्रिकाका साहुजी नै जातीय छूवाछूत तथा भेदभाव जन्य कसुर गरेको अभियोगमा प्रहरीको फरार सुचीमा छन् ।
राजधानी दैनिकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत आशिष शेरचन प्रहरीको फरार सुचीमा भएपनि हालसम्म पक्राउ परेका छैनन् ।
राजधानी दैनिककै कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा गत असार ८ गते नेपाल पत्रकार महासंघ, राजधानी दैनिक प्रतिष्ठान शाखा अध्यक्ष ईश्वर विश्वकर्मामाथि शेरचनकै निर्देशनमा जातीय भेदभावपूर्ण दुर्व्यवहार गरिएको र सटर र ढोका थुनेर आक्रमणको प्रयास भएको थियो ।
आक्रमणको प्रयासपछि विश्वकर्माले जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय टेकुमा गत असार १२ गते किटानी जाहेरी दिएका थिए । टेकुले गौशाला वृत्तलाई किटानी जाहेरीको निवेदन पठाएपछि गौशाला वृत्तले घटनाको अनुसन्धान गर्नुको साथै अदालतबाट प्रकाउ अनुमति लिएको थियो ।
शेरचन बौद्धस्थित ससुरालीमा बस्दै आएका छन् । प्रहरी स्रोतका अनुसार शेरचनलाई पक्राउ गर्न बौद्ध प्रहरीलाई पत्राचार गरिएको थियो । बौद्धले उनी फेला पर्न नसकेको जनाएपछि गौशालाले शेरचनको पुख्यौली घर बागलुङ प्रहरीलाई समेत पत्राचार गरी पक्राउ गर्न अनुरोध गरेको थियो ।
बागलुङमा खोजी गर्दा समेत उनी फेला नपरेपछि प्रहरीले फरार अभियुक्तको रुपमा मुद्दा चलाउने तयारी गरेको छ ।
शेरचनले जातीय दूव्र्यवहारपूर्ण कार्य गर्नुका साथै हातपातको प्रयास गरेपछि नेपाल पत्रकार महासंघले विरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गर्दै आएको छ । शेरचनका विरुद्ध मानव अधिकार आयोग, दलित आयोगमा पनि मुद्दामा रहेको छ ।
प्रतिष्ठित दैनिक पत्रिकाका संचालक भएका कारण प्रहरीले कारबाही गर्नुको सट्टा उन्मुक्ति दिएको आरोप समेत छ ।
गौशाला बृत्तका डिएसपी भन्छन्,‘अदालतमा बुझाउने तयारी छ’
महानगरीय प्रहरी बृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरिक्षक केशव कुमार थेवेले आशिष शेरचन प्रहरीको फरार अभियुक्त रहेको बताए । ‘उहाँ हाम्रो फरार अभियुक्त हो । हामीले खोजीका लागि पत्राचार पनि गरेका छौँ,’ उनले भने,‘हामी अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने प्रक्रियामा छौँ ।’