पोखरामा गुण्डा नाइके गुप्त लामाको नाइट क्लबमा झगडा, डिएसपीकै सेटिङ्गमा छुटे अभियुक्त !

दियोपोस्ट संवाददाता

पोखरा । पर्यटकीय नगरी पोखराको बैदाम क्षेत्रमा केही रात्री क्लवमा गुण्डा नाइकेहरुको अवैध लगानीका कारण बेला बेलामा उनीहरुबीच नै झगडा हुने गरेको छ । ट्रेजर क्लवका महेन्द्र भोटे भन्ने महेन्द्र गुरुङ सहकारीको ठगी गरेर फरार रहेका छन् । जीबी राईको अवैध पैसा चलाएका भोटे तीन महिनादेखि मलेशियामा लुकेर बसेका छन् । उनीसँगै जिवि राई पनि मलेशियामै गुपचुप लुकेर बसेका छन् । भोटे जस्तै अर्का क्लव सञ्चालक गुप्त लामा भने प्रहरी सेटिङमा क्लवमा मनपरी तरिकाले ग्राहकबाट रकम असुलिरहेका छन् ।

गत शुक्रबार बेलुका सुरेश रायमाझी, सुरज थापा, अमित अधिकारीलगायतको ७–८ जनाको समूह लामाको क्लवमा पुगेका थिए । त्यहाँ लामाका भाञ्जा अमित लामासँग भनाभन भएपछि रायमाझी र लामा समुहबीच हानाहान भएको थियो । गुप्त लामाले वैदामको प्रहरीलाई बोलाएर रायमाझीको समूहलाई भ्यानमा राखी बैदाम पुर्याउन लगाए ।

रायमाझी र गुप्त लामा अत्यन्तै निकटका व्यक्ति हुन् । तर, आफ्नो भाञ्जामाथि हातपात गरेपछि उनै लामाले रायमाझीको समूहलाई पक्राउ गराएका थिए । वडा प्रहरी कार्यालय वैदामको टोलीले रायमाझीको समूहलाई प्रहरी कार्यालय पुर्याउनासाथ डिएसपी राजेन्द्र श्रेष्ठले उनीहरुलाई तुरुन्तै छाडिदिएको प्रहरी स्रोत बताउँछ । लामाको क्लवमा जानुअघि रायमाझीको समूह बैदामको डिएसपीसँग बसेको पनि खुलेको छ । यसअघि सिजि हार्डवेयरको पैसा उठाउने ठेक्का लिएर विवादिन बनेका डिएसपी श्रेष्ठको उक्त नाइट क्लबसँग राम्रै लेनदेन रहेको स्रोत बताउँछ ।

लामा र रायमाझी एउटै समूहका भएकाले यो घटनालाई प्रहरीले नै मिलाएको खुलेको छ । प्रहरी स्रोतका अनुसार सुरेश रायमाझी र उनका सहयोगी दिपक बानिया आईजीपी बसन्त कुँवरसँग बसेको फोटो देखाउँदै प्रहरीका हाकिमहरुलाई प्रभावमा पार्दै आएका छन् । बानियाको पनि लेकसाइडमा रेष्टुरेन्ट रहेको छ ।

 

क्याटवाकका सञ्चालक गुप्त लामामाथि मिटरब्याजमा पैसा लगाउनेदेखि गुण्डानाइकेहरुसँग मिलेर असुलीमा संलग्न हुने गरेको आरोप लाग्दै आएको छ । उनीहरुको असुली धन्दामा बैदमका घुमुवा सहायक हवल्दार सुरेश यादवले साथ दिंदै आएका छन् ।

हतियार, लागूऔषध मुद्दा र बैंक लुटपाटमा ८ बर्ष जेल बसेर निस्केका गुण्डानाइके बिक्रम लामालाई प्रहरीमा सेटिङ मिलाएर गुप्त लामाले जोगाएको पनि खुलेको छ ।

लेखनाथ र पोखरा आसपासका क्षेत्रमा जग्गा प्लटिङ, सडक निर्माणका ठेकेदारसँग पैसा उठाउने विक्रमलाई प्रहरीमा सेटिङ मिलाएपछि अहिले पनि उनको असुली धन्दा जारी रहेको छ । फेवातालको मापदण्ड भित्र पर्ने क्याटवाक नामक क्लबमा दिनानुदिन झगडा र ग्याङ्ग फाइट हुने गरेपनि प्रहरीले थाहा नपाएको नाटक गरेको छ ।

डिएसपी भन्छन्,‘पीडित पक्ष उजुरी गर्न आएको छैन’

यता वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठ घटना भएको स्विकार गर्छन् । उनले पक्राउ परेकाहरु विरुद्ध कसैको पनि उजुरी नआएको बताए । ‘उनी बोलाएको बेला हाजिर हुने गरि छुटेका हुन् । अहिलेसम्म पीडित पक्षले उजुरी दिएको छैन,’ उनले भने,‘हामीले दुवै पक्षलाई बोलाएर छलफल गर्ने काम गरिरहेका छन् ।’

सम्बन्धित खबर

सिफारिस