कामठाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा आफ्नी छोरी गंगा दाहालको नाम उचाल्नुलाई लोकतन्त्र र गणतन्त्रमाथिको हमलाको रुपमा व्याख्या गरेका छन्।
एनसेल प्रकरणका सम्बन्धमा मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले गंगा दाहालमाथि उठिरहेको प्रश्नको बचाउ गरेका हुन्।
‘मेरो परिवारका सदस्य घट्दै गएर तीन जना रहेका छौं। त्योमध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ। हामी सबैलाई थाहा छ। ऊ उतै बढी इंगेज हुन्छ। एउटा छोरी छ। बिचरा, त्यो कस्ती छ, तपाईंहरूले थाहा पाउनुभएकै छ। उसलाई जोडेर बनाएको छ। उचालेको छ’, उनले भने, ‘म के ठान्छु भने यो वास्तवमा संविधान, व्यवस्था, गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो। म एकदम प्रष्ट छु त्यसमा।’
उनले एकथरीलाई प्रचण्डलाई नराम्रोसँग ह्युमिलियट नगरेसम्म, डिप्रेस्ड नबनाएसम्म यो (संविधान र व्यवस्था) उल्टिने भएन भन्ने रहेको बताए।
प्रचण्डले एनसेलको सेयर खरिद बिक्रीमा आफूसँग जोडेर प्रचार भइरहेको भन्दै त्यसको पनि खण्डन गरे।