राष्ट्रपति र प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गर्न नपाईने

निषेधित क्षेत्र २ महिनाका लागि थप

दियो पोस्ट  

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालुवाटार वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । अब राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास नजिक आन्दोलन धर्ना गर्न नपाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले गत महिनामात्रै ती क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त अवधि सकिएपछि दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।

राष्ट्रपति कार्यालयमा पूर्व पुरानो पवित्र वर्कशप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।

त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो पवित्र वर्कसप चोकबाट रसियन दूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम र राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटर, इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको छ ।

काठमाडौं प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अति विशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला भई अनशन, धर्ना घेराउ र विरोध प्रदर्शन गरिने भएकाले त्यस्ताकार्यमा रोक लगाएको उल्लेख गरेका छन् ।