भिजिट भिषामा मानव तस्करी गर्ने गिरोह : आकर्षक तलब प्रलोभन दिएर ५० लाख ठगी !

दियो पोस्ट  

काठमाडौं । भिजिट भिषाको नाममा मानव तस्करी गर्दै आएका कोमलराज उपाध्यायलाई ईन्टरपोल मार्फत नेपाल प्रहरीले पक्राउ गरि अदालत बुझाईसकेको छ । उनी कारागार समेत चलान भइसकेका छन् । यसरी नै ठगीधन्दा गर्दै आएको एउटा गिरोह भने हालसम्म कारबाहीको दायरामा आएको छैन ।

नेपाली सेनाका अवकास प्राप्त धनबहादुर कुँवर, नन्दलाल विक र पदमराज जोशीसहितका गिरोहले दुबईमा नेपालीलाई भिजिट भिषामा पुर्याइ अलपत्र पारी आधा करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुलेको छ ।

उनीहरुले दुबईमा मिराबल इम्प्लोइमेन्ट कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टर नामक कम्पनि नै खडा गरेर ठगीधन्दा गर्दै आएका छन् । दुबईको सारजाँमा कार्यालय खडा गरेर दर्जनौँ नेपालीलाई भिजिट भिषामा मानव तस्करी गर्ने र लाखौँ रुपैयाँ ठगी गरेर यो गिरोह सम्पर्क विहिन भएको छ ।

दुबईमा सरक्षाकर्मीमा काम लगाइदिने भन्दै लाखौं रकम असुलेर १० महिनादेखि बिचल्ली बनाएको पाइएको हो ।

कुवरसहित उनका साथीहरु, नन्दलाल विक र पदमराज जोशीले विभिन्न प्रलोभनमा पारेर मोटो रकम असुलेको पीडितको आरोप छ ।

दुबईमा अलपत्र परेका शम्भु कटुवालका अनुसार आफूहरुले गएको १० महिनादेखि कुनै काम नपाएपछि उनीहरुसँग आफ्नो रकम फिर्ता मागेको तर वेवास्ता गर्दै आएका छन् । उनले दियोपोस्टसँग भने, “हामीहरु अब घर फर्कन चाहान्छौं तर हामीबाट लिएको पैसा माग्दा पनि अहिलेसम्म १ पैसा दिएका छैनन् । म लगायत धेरै साथीहरुलाई पनि यसरी नै अलपत्र परेका रहेछन् । हाल केही साथीहरु एकै ठाउँमा छौं । तर हामीसँगै आएका थप केही साथीहरु अहिले हामीसँग सम्पर्कमा छैनन् ।”

 

उक्त गिरोहले अहिले दुबईमा अलपत्र परेकाहरु तिर्थराज खत्री १२ लाख ६० हजार, हरि कार्की आठ लाख, अम्बादत्त भट्ट सात लाख, रामकुमार थापा आठा लाख शम्भु कटुवाल आठ लाख प्रेम पाण्डेबाट सात लाख रुपैयाँ गरि जम्मा ५० लाख ६० हजार रुपैयाँ रकम ठगी गरेको पीडितहरुको गुनासो छ । ठगहरुले नेपालको एनआइसी एशिया बैंकमा समेत खाता खोलेका छन् । सोही खातामा पीडितहरुले रकम जम्मा गरिदिएका थिए ।

‘हामीले चार चार लाख रुपैयाँ नेपालबाटै खातामा हालेका हौँ । अरु पैसा भने दुबई पुगेर दिएका हौँ,’ कटुवालले दियोपोस्टसँग भने । ठगी र मानव तस्करी गर्दै आएका विक सहितको समुहलाई सम्पर्क गर्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।