
काठमाडौं । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि विपी राजमार्ग आज तीनदेखि चार घन्टा अवरूद्ध भएको छ।
बिहान साढे ८ बजेदेखि अवरूद्ध विपी राजमार्ग दिउँसो १२ बजेपछि मात्रै सञ्चालनमा आएको सिन्धुलीका डिएसपी रञ्जनकुमार दाहालले बताए।
सडक अवरूद्ध हुँदा काठमाडौं आउने तथा काठमाडौंबाट गएका सवारी साधनहरू धेरैबेर रोकिएका थिए।
बिहान साढे ८ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका-३ स्थित बोहोरेटारस्थित रामेछापको मन्थलीबाट काठमाडौं आउँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार दुई जना युवायुवतीको मृत्यु भएपछि तीन घन्टाभन्दा बढी समय सडक अस्तव्यस्त बनेको थियो।
बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका-२ का २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० कि १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो।
दुर्घटनामा महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालकलाई उपचारका लागि अस्पताल लगिँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
दुर्घटनालगत्तै जम्मा भएका थिए। त्यस क्षेत्रमा प्रहरीको उपस्थिति कम भएका कारण स्थितिलाई नियन्त्रणबाहिर पुगेको थियो। आक्रोशित स्थानीयले केही दुर्घटनाको केही बेरमा बसमा आगजनी गरे र सडक अवरूद्ध गरेका थिए।
सडक अवरूद्ध भएपछि जिल्ला प्रहरी कार्यलयबाट डिएसपी दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्लाबाट प्रहरी टोली पुगेर समन्वय गरेपछि मात्रै स्थिति नियन्त्रणमा आएको डिएसपी दाहालले जानकारी दिए।
भीड मत्थर भएपछि मृतक युवक र युवतीको शव पोस्टमर्टका लागि जिल्ला अस्पताल लगिएको डिएसपी दाहालले बताए।
बसका चालक मन्थली-१३ का २४ वर्षीय रूपेश अधिकारीलाई नियन्त्रणमा छन्। मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइएको र उनीहरू आउँदै गरेको डिएसपी दाहालले जानकारी दिए। अहिले विपी राजमार्ग सामान्य रूपमा सञ्चालन भएको उनले बताए।