
लेनदेनको विषयलाई लिएर महिलालाई बाँधेर कुटपिट गरेको आरोपमा पक्राउ परेका ७ जनाविरुद्ध प्रहरीले शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले पीडितका श्रीमान् सन्तोष थापासहित पक्राउ परेकाहरुमाथि शरीर बन्धकको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–४ मा गएको आइतबार ३७ वर्षीया शारदा थापालाई बन्धक बनाएर कुटपिट गरेको सूचना प्रहरीले पाएको थियो । लगत्तै एसपी सिलवालसहितको टोली त्यहाँ पुगेर उद्दार गरेको थियो । अर्धचेत अवस्थामा उद्दार गरेर ल्याएपछि प्रहरीले यो विषयमा थप अनुसन्धान थालेको थियो ।
त्यसक्रममा श्रीमानसहित स्थानीय ६२ वर्षीय एक्कबहादुर खड्का, ३१ वर्षीय मिलन देवकोटा, ३४ वर्षीय निकेश ढकाल, ४२ वर्षीय ईश्वर पोखरेल, विष्णुकुमार ढकाल र ५२ वर्षीय वीरविक्रम ढकाल पक्राउ परेका थिए ।
पक्राउ परेकामध्ये देवकोटा कांग्रेसका स्थानीय नेता समेत हुन् ।
केहीदिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरीसमक्ष जानकारी गराएकी थिइन् ।