काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बिहे भएको मितिमै विवाह दर्ता गर्न नमानेको र आफूमाथि शारीरिक, मानसिक हिंसा गरेको भन्दै उनकी पत्नी जानकी पाण्डेले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्।
पति भण्डारीले बिहे दर्ता गर्न नमानेकोले नाता कायमको मुद्दा दायर गरेकी पाण्डेले आफूमाथि शारीरीक, मानसिक, आर्थिक र यौनजन्य हिंसा भएको भनेर पनि अर्को छुट्टै मुद्दा दिएकी हुन्।
भण्डारीले आफूलाई ज्यान लिने भन्दै धम्क्याउने, आफ्ना बावुआमालाई सताउने लगायतका काम गरेको भन्दै उनले संरक्षणात्मक आदेश मागेकी छन्।
उनले यसअघि भण्डारीविरूद्ध महिला आयोगमा निवेदन दिएकी थिइन्। आयोगले भने अदालत जान सुझाएको थियो।
जानकीका अनुसार, उनीहरूको विवाह २०७४ साल माघ १९ गते परम्परा बमोजिम परिवारका सदस्यहरूको बीचमा भएको थियो। दोस्री पत्नीसँग पनि सम्बन्ध विच्छेद भएपछि सुरेन्द्रको बिहे जानकीसँग भएको थियो।
गएको चैतमा सुरेन्द्रले बिहे दर्ताको फारम भरे पनि बिहेको मिति भने ६ वर्षअघिको राख्न मानेनन्। बरू २०८० सालमा बिहे दर्ता गरौं भने। त्यसपछि विवाद भएको थियो।