
काठमाडौं । केही समयअघि अनियमितता गरेको भन्दै माओवादी नेता तथा पूर्व वन मन्त्री मातृका यादवले शौचालयमा थुनेका सह–सचिव डण्डुराज घिमिरे वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घिमिरेलाई महानिर्देशकको रूपमा पठाएको हो ।
यसअघिका महानिर्देशक मदन दाहालको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको सरुवा गरिएको थियो । उनको सरुवा गरेको तीन सातापछि मन्त्रालयले नयाँ महानिर्देशक पठाएको छ ।
मातृकाले वन तथा भू–संरक्षण मन्त्रालयको कार्यभार सम्हालेको केही समयपछि ललितपुर जिल्ला विकास समितिका तत्काली स्थानीय विकास अधिकारी घिमिरेलाई शौचालयमा थुनेको विषय चर्चामा आएको थियो ।
वनमन्त्री यादवले खानी सञ्चालनको विषयलाई लिएर घिमिरेलाई शौचालयमा थुनेका थिए । ललितपुरको एक सामुदायिक वनमा सञ्चालित ढुंगाखानीले वातावरण विनाश गरेको भन्दै स्थानीयले विरोध गर्दा पनि जिविसले सुनेको नसुन्यै गरेको थियो । अवैधरुमा ढुंगाखानी सञ्चालन हुँदा पनि त्यसलाई रोक्न चासो नदेखाई अनियमितता गरेको भन्दै यादवले एलडिओ घिमिरेलाई शौचालयमा थुनेका हुन् । यो घटनाले चौतर्फी समर्थनसँगै आलोचना समेत गरिएको थियो ।