डाक्टर जसवन शाक्यले यौन दुर्व्यवहार गरेको खुलासा: पीडित अदालतको ढोकामा

दियोपोस्ट संवाददाता

काठमाडौं । उपचारका लागि ग्रान्डी अस्पताल अस्पताल पुगेकी धरानकी २७ वर्षीया युवतीलाई डा. जसवन  शाक्यले कार्यकक्षमै यौन दुर्व्यवहार गरेको  आरोप लागेको छ ।  पीडित महिलाले जिल्ला अदालत काठमाडौंमा डा. शाक्यविरूद्ध मुद्दा दायर गरेकी छन् । डा. शाक्यले यौन दुर्व्यवहार गरेको विषय मेडिकल काउन्सिल हुँदै अदालतमा पुगेपछी ग्रान्डी अस्पतालले डा. शाक्यलाई निष्कासन गरेको छ ।

घटना तीन महिनाअघिको हो । धरानकी ती युवतीले फेसबुक पेजमार्फत जोडिएर डा. शाक्यलाई आफ्नो स्वास्थ्य समस्या सुनाएकी थिइन् । काठमाडौं जानुअघि डाक्टरकै सल्लाह लिँदा ठिक हुन्छ कि भनेर उनले आफ्नो समस्या भनेकी थिइन् । डा. शाक्यले उनको समस्या सुने र उपचारका लागि अस्पतालमै आउन भनेका थिए । असोज ३ गते युवती ग्रान्डी अस्पताल पुगेर उनै फेसबुकमा कुराकानी भएको डा. शाक्यको अपोइन्टमेन्ट लिइन् । काउन्टरले उनको अपोइन्टमेन्ट लिन ८२५ रुपैयाँ शुल्क लियो ।

अपोइन्टमेन्ट लिएर केही बेर कुरेपछि उनको पालो आयो र डाक्टर शाक्यको क्याबिनमा गएकी थिइन् । पीडित युवतीका अनुसार त्यतिबेला सरसर्ती आफ्नो समस्याका बारेमा डा.शाक्यलाई सुनाएकी थिइन् । युवतीका अनुसार त्यतिबेला आफ्नो स्वास्थ्य समस्याका बारेमा बुझ्न मात्रै चाहन्थिन् ।

त्यसकारण उपचार के हुन्छ, के–कस्तो स्वास्थ्य परीक्षण गर्नुपर्छ भने युवतीले तत्कालका लागि मौखिक रूपमा बुझ्न मात्रै खोजेकी थिइन् । तर, प्रश्न छलेर आफ्नो समस्यालाई लिएर डा.शाक्यले अनावश्यक र असहजलाग्दा कुरा गरेको पीडित युवतीले बताएकी छन् ।

संवेदनशील अंगको समस्याबारे स्वास्थ्य परीक्षण गर्नुपर्ने भए नर्स वा अन्य महिला कर्मचारीलाई उपस्थित गराउनुपर्छ । तर त्यतिबेला ती डाक्टरको कार्यकक्षमा कुनै पनि महिला कर्मचारी नभएको उनले बताएकी छन् ।

डा. शाक्यले सिधै शारीरिक परीक्षण सुरू गरेको उनले बताएकी हुन् । डाक्टरले एकपटक अनुमति समेत नलिइ परीक्षण सुरू गरेपछि असहज भएर युवतीले पटकपटक प्रश्न समेत गरेकी थिइन् । तर प्रश्नहरूलाई बेवास्ता गर्दै डा. शाक्यले आफ्नो भित्री वस्त्र तानेर हटाएर योनाङ नियालेको र अश्लील टिप्पणी गरेको युवतीले बताएकी छन् ।

डाक्टरको त्यस्तो हर्कतबारे त्यतिबेला केही बोल्न नसकेपछि पीडित युवतीले रिपोर्ट देखाउन पुनः डाक्टरसँग अघिल्लो भेटमा आफूमाथि गरिएको व्यवहारबाट अहसज महशुस भएको सुनाइन् । त्यतिबेला भने पीडित युवतीले आफ्नो फोन रेकर्ड मोडमा राखेकी थिइन् । उनले अघिल्लोपटक सोध्दै नसोधी आफ्नो यौनाङ्ग नियालेको देखि महिला कर्मचारी नभएको सम्म बताएपछि डा. शाक्यले स्वीकार गर्दै माफीसमेत मागेका थिए ।

‘म पाँच वर्षपछि नेपाल आएकी हुँ । यहाँको प्रक्रिया अलि थाहा छैन । तर महिलाको संवेदनशील अंगहरूको परीक्षण गर्नुपरे अनुमति लिनुपर्नेदेखि महिला कर्मचारीको पनि उपस्थिती हुन पर्ने हो । तपाइँ चर्चित डाक्टर हुनुहुन्छ तर तपाइँले मेरो अन्डरवेयर पल्टाएर हेर्न एकपटक पनि अनुमति लिनुभएन नि,’ अडियोमा  महिलाले डा. शाक्यलाई प्रश्न गरेको सुनिन्छ ।

जवाफमा डा. शाक्यले त्यतिबेला महिला कर्मचारी बिदामा रहेको भनेको सुनिन्छ । ‘तपाइँको समस्या सुनेपछि फंगल इन्फेक्सन हो कि भनेर हेरेको मात्र हुँ । आइ एम एक्सट्रिमली सरी,’ डा. शाक्यले भनेका छन् ।

घटनापछि आफूमाथि दुर्व्यवहार भएको महशुस गरी पीडित युवतीले अस्पताल प्रशासनमा डा. शाक्यविरूद्ध मौखिक उजुरी दिएकी थिइन् । तर सुनुवाइ नभएपछि असोज ११ गते लिखित उजुरी दिइन् । लिखित उजुरीपछि अस्पतालले डा. शाक्यलाई निस्कासन गरेको छ । त्यसपछि उनले मेडिकल काउन्सिल हुँदै अदालतसम्म पुगेकी छन् ।

सम्बन्धित खबर

सिफारिस