रोल्पामा निर्माणाधीन झोलुङे पुलको पर्खाल भत्कियो, पाँचजनाको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को खस्दा पाँच जनाको मृत्यु भएको छ ।

सुनछहरी गाउँपालिका– ३, बाहिरी गामनिवासी ४५ वर्षीय दुजमन परियार, वर्ष ३१ का ओम परियार, २७ वर्षीया आइती परियार, ४० वर्षीया सवित्रा परियार र ६६ वर्षीया देवीराम परिवारकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर पुरिँदा पाँच जना पुरिएका थिए । दुई जना भने भाग्न सफल भएका थिए ।

उनीहरु पुरिएको खबर पाएपछि सो स्थानमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा ७ जना र प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक प्रकाश विष्टको कमाण्डमा ५ जनाको टोली उद्धारमा खटिएको थियो ।

जिल्लाको सुनछहरी गाउँपालिका– ३ मौलाबाङ र बाहिरी गाम जोड्ने गाजाधारा कोइगेङ झोलुङे पुल निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।