प्रेस चौतारी अध्यक्ष बस्नेत र पत्रकार गणेश विक विरुद्ध साइबर अपराध मुद्दा दर्ता, एक पक्राउ !

दियोपोस्ट संवाददाता  

काठमाडौं । विद्युतिय अपराध अर्थात साइबर अपराधमा दुई पत्रकार विरुद्ध मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र खप्तड टिभि अनलाइनका पत्रकार गणेश विक विरुद्ध मुद्दा दर्ता गरेको हो ।

जिल्ला अदालत काठमाडौंमा आज सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गरेको छ । पत्रकार गणेश विकलाई भने प्रहरीले पक्राउ गरेको छ । यता बस्नेतलाई भने बाहिर बसेरै मुद्दा लड्ने सुविधा प्रहरीले दिएको छ । सत्तारुढ दल नेकपा एमाले निकट प्रेस चौतारीको अध्यक्ष रहेको बस्नेतद्वारा संचालित जनता टाइम्स नामक अनलाइनमा एक महिलाको अश्लिल भिडियोसहितको समाचार प्रकाशित भएको थियो । सोही व्यहोराको समाचार खप्तड टिभि नामक अनलाइनमा पनि प्रकाशन भएको थियो ।

पीडित युवतीले पत्रकार बस्नेत र विक विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् । तर, प्रेस काउन्सिलले विशेष अनुगमनमा राखि कुनै कारबाही नगरेपछि उनी प्रहरीको साइबर ब्युरोमा उजुरी दिन पुगेकी थिइन् । गत भदौ २७ गते बागबजारस्थित हार्दिक होटलमा बस्नेतलाई पक्राउ गर्न पुगेको साइबर ब्युरोको प्रहरी फिर्ता आउनु परेको थियो । प्रेस चौतारी नेपालको कार्यक्रमस्थलमै प्रहरी प्रवेश गरेको भन्दै चौतर्फी विरोध भएको थियो । उनलाई पक्राउ गर्न खोजिएपछि पत्रकार महासंघ लगायत एमाले निकट प्रेस चौतारीले विरोध गरेको थियो । विकलाई भने ब्युरोले तीन दिन अघि पक्राउ गरेर हिरासतमा राखेको छ । उनको पक्षमा वकालत गर्दिने व्यक्ति समेत नरहेको पाइएको छ । जिल्ला अदालत काठमाडौंमा आज दर्ता भएको मुद्दा हेर्दा हेर्दैमा छ ।