बुटबल । बिश्व एड्स दिवसको अवसरमा ‘लायन्स क्लव अफ युथ बुटबल’ले एड्स सम्वन्धि जनचेतना कार्यक्रम गर्नुका साथै किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । आइतबार बुटबलस्थित बुटबल माध्यमिक बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच करिब १ सय ५० जना किशोरीहरुलाई प्याड बितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै लायन्स क्लव अफ बुटबलका प्रमुख पुरुषोत्तम भक्त प्रधानाङ्गले हरेक वर्ष एड्स दिवसको अवसर पारेर फरक–फरक स्थानमा एड्स सम्बन्धि जनचेतना कार्यक्रम गर्ने गरिएको र सोही कार्यक्रमको निरन्तरता स्वरुप बुटबल माबिका कार्यक्रम गरिएको बताउनु भयो । उहाँले बिश्वभरी एचआइभी एड्सले महामारीको रुप लिएको भएता पनि पछिल्लो समय जनचेतनाका कारण एच.आइ.भी.को संक्रमण दर घट्दै भएको बताउनु भयो ।
समाज परिवर्तन र जनचेतना फैलाउने कार्यमा लायन्स क्लवले अग्रणी भुमिका निर्वाह गरेको भन्दै उहाँले आउँदा दिनहरुमा पनि यस्ता खाले कार्यक्रम गरिने जानकारी दिनु भयो ।
कार्यक्रममा लायन्स कल्व अफ बुटबल युथका अध्यक्ष मोती काफ्लेले हरेक स्थानीय निकाय तथा वडा स्तरसम्म एच.आइ.भी.एड्सका बिरुद्धमा जनचेतना मुलक कार्यक्रम गरिनु पर्ने बताउनु भयो । एड्सको नियन्त्रण तथा रोकथामका लागि राज्यले नै पहल गर्नु पर्ने भन्दै उहाँले हरेक बिद्यालयमा एड्स सम्वन्धि जनचेतनामुलक पाठ्यक्रम निर्माण गरिनु पर्ने औल्याउनु भयो ।
बुटबल माध्यमिक बिद्यालयका प्रधानध्यापक होम बहादुर रायमाझीले कक्षा आठ भन्दा माथिका शैक्षिक पाठ्यक्रममा एड्स सम्वन्धि पाठ रााखिएको भएता पनि त्यो प्रयाप्त नभएको बताउनु भयो । बेला बेलामा बिशेषज्ञ डाक्टर तथा यस सम्बन्धि जनकार ब्यक्तिहरुद्वारा तालिम दिई हरेक बिद्यालयसम्म जनचेतना फैलाउन सकिने उहाँको भनाई छ ।
सो अवसरमा डाक्टर सिमा चौधरी तथा डाक्टर अर्जुन बुढाथोकीले एचआइभी एड्सबाट बँच्ने उपाय र एड्स नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बिषयमा जानकारीमुलक प्र्रशिक्षण दिनु भएको थियो ।