मृगौला पीडित बालकलाई धावक बोहोराको नेतृत्वमा आर्थिक सहयोग

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्व राष्ट्रिय धावक एवं समाजसेवी अक्कल बोहोराले मृगौला पीडितलाई एक लाख बढी सहयोग गरेका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका–३ का मृगौलासम्बन्धी समयस्याबाट पीडित धर्मेन्द्र खड्कालाई बोहोराले १ लाख ४६ हजार ५०० रकम सहयोग गरेका हुन् । उनले स्पेनको कोस्टाब्लांकामा बस्ने नेपालहरुसँग रकम संकलन गरेर धर्मेन्द्रका बाबु धन बहादुर खड्कालाई रकम हस्तारण गरिएको छ । धर्मेन्द्रको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

११ वर्षीय धर्मेन्द्रका दुबै मृगौलाले काम गर्न छाडेको र फोक्सोमा पानी जमेको उपचारका क्रममा खुलेको छ । यसअघि भारतको समारा अस्पतालमा उपचार गराउदै आएका धर्मेन्द्रको परिवारको आर्थिक अवस्था कमजोर भएपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरिरहेका थिए ।

त्यसपछि समाजिक सञ्जालमा धर्मेन्द्र खड्का बचाउ अभियान नै सुरु भएको थियो । सोही क्रममा पीडित खड्कालाई केही रकम सहयोग समेत भएको थियो ।

देश तथा विदेशबाट यसरी सहयोग आउदा उपचारमा धेरै राहात भएको धर्मेन्द्रका बुबा धन बहादुर खड्का बताउछन् । “स्पेनको कोस्टाब्लांकाबाट अक्कल दाई लगायत धर्मेन्द्र खड्का बचाउ अभियानमा सबैले सहयोग गरीदिनुभयो धेरै धेरै धन्यवाद ।” धमेन्द्रका बुबाले भने । सहयोग रकम आउदा औष्धि उपचार गर्दा धेरै सहज भएका उनको भनाई छ ।

उनका अनुसार छोरा धर्मेन्द्रको स्वास्थ्यमा पहिलेको भन्दा अहिले सुधार आईरहको छ । यद्यपी अहिले उनीहरुले नियमति चेकजाँच गराइरहेका छन् । अक्कल–कोपिला फाउण्डेशनमार्फत मुगुमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएका बोहोराले लामो समयदेखि स्पेनको कोस्टाब्लांकामै रारा होटल सञ्चालन गर्दै आएका छन् ।