अपाङ्गता दिवसको अवसरमा दृष्टिबिहिनलाई ‘सेतो लठ्ठी’ र ‘ब्ल्याङ्केट’ बितरण !

रीता बुढाथोकी

बुटबल । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने नाराका साथ मंगलबार ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा लायन्स क्लव अफ बुटबल युथले बुटबलका बिभिन्न स्थानमा कष्टकर जीवन बिताइरहेका दृष्टिबिहिन तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई सेतो छडी, ब्ल्याङ्केट तथा खाना बितरण गरेको छ ।

लायन्स क्लव अफ बुटवल युथका सदस्य तथा कार्यक्रम संयोजक लायन प्रदिप कुमार बिश्वकर्माका अनुसार नयाँगाउँस्थित रुपन्देही दृष्टिबिहिन संरक्षण केन्द्रका १५ जना दृष्टिबिहिन तथा अन्य अपाङ्गता भएका ब्यक्तिलाई उक्त सामाग्री बितरण गरिएको हो ।

कार्यक्रममा लायन्स क्लव अफ बुटबलका डिस्ट्रीक ३२५ पि का डिस्ट्रीक गर्भनर लायन प्रमुख पुरुषोत्तम भक्त प्रधानाङ्गले क्लवको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत अपाङ्गताका क्षेत्रमा पनि सहयोग गर्दै आएको बताए । उनले भने, ‘हामी आफ्नो लागि मात्रै होइन, अरुका लागि पनि सहारा बनेर बाँच्न सक्नु पर्छ । त्यही नाराका साथ लायन्स क्लव अगाडी बढेको छ । हामीले आ–आफ्नो ठाउँबाट सहयोगको हात अगाडी बढाउनु पर्छ ।’

कार्यक्रममा बोल्दै लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष मोति काफ्लेले भुकम्प तथा अन्य महामारीको समयमा समेत लायन्स क्लवले मानवीय हितमा काम गर्दै आएको स्मरण गर्दै उनले अभावमा जिउन वाध्य भएका मानिसलाई सधै सहयोग गरिने बताए । सो अवसरमा उनले अपाङ्गता भएका अधिकांश मानिसहरु कष्टकर जीवन जिइरहेको र उनीहरुको संरक्षणमा राज्यले लगानी गर्नु पर्ने धारणा ब्यक्त गरे । उनले अपाङ्गता भएका ब्यक्तिहरुको पूर्नस्थापनका लागि लायन्स क्लवले पहल गर्ने बताए ।

सो अवसरमा रुपन्देही दृष्टिबिहिन संरक्षण केन्द्रका अध्यक्ष पदम नेपालीले अपाङ्गता भएका ब्यक्तिहरुलाई सीप र क्षमता अनुसारको रोजगारीको ब्यवस्था हुनु पर्ने बताए । दैनिक रोेजीरोटीका लागि दृष्टिबिहिनहरु सडक संगीत मार्फत गुजरा चलाइरहेको भन्दै उनले लायन्स क्ल्व जस्ता संस्था र स्थीय सरकारले आफुहरुको दीर्घकालिन पूर्नस्थापनामा जोड दिनु पर्ने धारणा ब्यक्त गरे ।

संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि वर्षेनि डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।

सम्बन्धित खबर

सिफारिस