
काठमाडौं । ठगी, आपराधिक लाभ तथा अनुचित लेनदेन कसुरमा जिल्ला अदालत पश्चिम नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपछि स्याङ्जाको हरिनाश गाउँपालिका ३ का वडाध्यक्ष ओम प्रकाश सिग्देल फरार भएका छन् । उनले वडा कार्यालयको जिम्मेवारी नै वडासदस्यलाई दिएर कार्यालयबाट सम्पर्क विहिन भएका हुन् । उनको मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइल स्विच्ड अफ छ ।
हरिनाश गाउँपालिका ३ का वडासचिव डिलबहादुर रानालाई सम्पर्क गर्दा उनले वडाध्यक्ष सिग्देल गत मंसिर २८ गते देखि नै कार्यालयमा आएका छैनन् । उनले कार्यावाहक अध्यक्षको जिम्मेवारी वडासदस्य डिल बहादुर जिटिलाई दिएका छन् । ‘उहाँ मंसिर २७ गते दिउँसो हामीसँगै बैठकमा हुनुहुन्थ्यो । त्यहीदिन साँझ मलाई फोन गरेर म अब कार्यालयमा आउँदिन भनि मलाई कार्यावाहक दिएको कागज पठाउनु भयो,’ कार्यावाहक वडाध्यक्ष खिम बहादुरले दियोपोस्टसँग भने,‘अहिले मलाई कार्यावाहक दिनु भएको छ । उहाँमाथि लागेको विषय अदालतमै छिनोफानो हुन्छ । उहाँलाई फसाइएको रहेछ ।’
पोखरा घर घएका अमर कुमार सुनारलाई १ हजार दशमलव ८ प्रतिशतसम्म मिटर ब्याज लगाई ठगी गरेको आरोपमा उनी विरुद्ध गत मंसिर २३ गते जिल्ला अदालत पश्चिम नवलपरासीबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएलगत्तै उनकी श्रीमती सुशिला सिग्देललाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले गत मंसिर २७ गते घरबाटै पक्राउ गरेको थियो । पक्राउ परेकी उनलाई जिल्ला अदालत पश्चिम नवलपरासीले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यता वडा कार्यालयबाट सम्पर्क विहिन रहेका वडाध्यक्ष ओम प्रकाश सिग्देललाई भने प्रहरीले व्यापक खोजी गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरिक्षकलाई यस विषयमा सम्पर्क गर्दा उनले जिल्ला प्रहरी कार्यालयको टोलीले उनको व्यापक खोजी गरेको बताए । तर, वडा कार्यालयमा प्रहरी पुग्दा उनी भेटिएका छैनन् ।
प्रहरी कार्यालय चिसापानीको टोली उनलाई पक्राउ गर्न खटिएको थियो । दियोपोस्टको सम्पर्कमा आएका वडाध्यक्ष सिग्देलले भने आफूलाई फसाएको बताएका छन् । तर, प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोमा परेको जाहेरीमा सिग्देलले जाहेरवाला अमर कुमार सुनारलाई ३ करोड १० लाख ८७ हजार १८ रुपैयाँ दिएकोमा मिटरब्याज बापत १ हजार दशमलव ८ प्रतिशतसम्म ब्याज लगाएर १३ करोड ६७ लाख ६५ हजार ६ सय ४१ रुपैयाँ असुली गरेको उल्लेख छ ।