मुगु । मुगुमा १५ वर्षीय बालकले आत्महत्या गरेका छन् । गत विहीबार(पुस ४) छायाँनाथ रारा नगरपालिका–२ का तलितुम गाउँका सागर तिरुवाले आत्महत्या गरेका हुन् । जिल्लाको सदरमुकाम गमगढीस्थि मामाको घरमा आमासँगै डेरा गरेर बस्दै आएका सागर बेलुकी ७ बजे झुन्डिएको अस्वथामा फेला परेका थिए । सदरमुकाम गमगढीस्थित श्री महाकाली नमुना माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सागरमाथि एकदिन अघिमात्रै चोरीको आरोप लागेको थियो । उक्त आरोपमा उनी जिल्ला प्रहरी कार्यालय मुगुसम्म जानु परेको थियो । त्यसको एकदिन पछि उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
घटनाको अघिल्लो दिन गमगढी बजारमा कपडाको व्यवसाय गर्दै आएका सक्क बुढाले मृतक सागरलाई जुत्ता चोरीको आरोप लगाएका थिए । बुढाले आरोपमात्रै लगाएनन् सागरसहित २ जना बालकमाथि नाम किटान गरि कालिका मालिका प्रहरी विटमा अनुसन्धानका लागि निवेदन समेत दिए । विद्यालयका प्रधानाध्यापक खड्क रोकायका अनुसार प्रहरीले सागरलाई सोधपुछका लागि भन्दै कक्षा कोठाबाटै प्रहरी समक्ष लगिएको थियो । गत पुस ३ गते उनलाई उक्त प्रहरी विट हुदै जिल्ला प्रहरी कार्यालयसम्म लगिएको थियो । छोरालाई प्रहरीकहाँ लिएपछि सागरकी आमा पनि प्रहरीकहाँ पुगेकी थिइन् । केही बेरको सोधपुछपछि उनीहरुलाई भोलि १० बजेपछि आउनु भन्दै घर पठाइएको प्रहरीले जनाएको छ । भोलिपल्ट फेरि दुबै पक्ष प्रहरीसमक्ष जम्मा भएका थिए । यद्यपी सागरमाथिको आरोप झुटो भएको परिवारकाे दाबी छ ।
प्रहरीको यातनापछि आत्महत्या गरेको परिवारको आरोप
प्रहरीले मानसिक रुपमा यातना दिएपछि सागर आत्महत्या गर्न बाध्य भएको आरोप परिवारले लगाएको छ । मृतक सागरका मामा प्रेम विकले कुनै प्रमाणबिना आरोप लगाएको र प्रहरीले पनि त्यही अनुसार बालकलाई मानिसक रुपमा यातना दिएका कारण दोषीमाथि कारबाहीको माग गरेका छन् । परिवारसहित केही स्थानीय युवाहरुले दोषीलाई कारबाहीको माग गर्दै विरोध गर्दै आएका छन् । “प्रहरीले दुई दुई पटक बोलाएर बाबुलाई यातना दिने काम गरे । यसरी मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाईयो । प्रहरीले यसरी यातना दिन मिल्छ ? त्यसले गर्दा मान्छेको ज्यान गयो । प्रहरीकै यातनाका कारणले मृत्यु भएपछि हामीले हिजो (आइबार) आन्दोलन पनि गरेका थियौं,” स्थानीय युवा रविन कुमार मल्लले भने ।
घटनाको भोलिपल्ट (पुस ५) सागरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगु लगियो । तर उनलको पोष्टमार्टम रिर्पाेट भने अझै आएको छैन । यता उनको दाहसंस्कार भने ५ गते नै भइसकेको छ ।
पोष्टमार्टम रिर्पाेट आएपछि उक्त रिर्पाेटअनुसार आवश्यक कारबाही अघि बढाउन स्थानीयको माग छ ।
व्यवसायी बुढा भन्छन्– जुत्ता कसले चोर्यो थाहा भएन
जिल्लाको सदरमुकाम गमगढी बजार कपडा तथा जुत्ता चप्पलको व्यवसाय गर्दै आएकासक्क बुढाले आफ्नो पसलबाट सामान कसले चोरेको भन्ने थाहा नभएको बताए ।
उनले भने,“मेरो पसलमा सामान कति खेर कसले चोर्दिए थाहा भएन । पछि एक जना बच्चासँग त्यो जुत्ता भेटियो । त्यसपछि त्यो जुत्ता भेटिएको बच्चाँले सागर बाबुलाई साँठगाँठ (साटासाट) गरेको कुरा गर्यो र त्यसपछि मैले प्रहरीलाई अनुसन्धानको लागि निवेदन दिएको हुँ । त्यति मात्र कुरा हो ।”
पसलबाट सामान हराएकाले अनुसन्धानका लागि निवेदन दिएको बुढाको भनाई छ । यस विषयमा बाँकी कुरा प्रहरीलाई नै सोध्न भन्दै फोन राखे ।
के भन्छ प्रहरी ?
मृतक बालकलाई प्रहरीले कुनै पनि खालको यातना नदिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक (डीएसपी) सरोज गिरीले बताए । उनका अनुसार विद्यालयबाट सामान्य रुपमा सागरलाई ल्याएको थियो ।
“निवेदन परेको दिन नै पहिचान गरेर बालकलाई विद्यालयसँग समन्वय गरेर प्रहरीले जिल्ला प्रहरी कार्यलयमा ल्याएको हो । तर प्रहरीमा ल्याएपछि अभिभावक नभइ हामी छलफल गर्दैनौं भनेर त्यो दिन अभिभावकको जिम्मा लगाएर पठायौं र भोलि पल्ट आउन भन्यौं,” उनले भने, “प्रहरीले कुनै यातना दिएको छैन । हिरासतमा पनि राखेको होइन । निवेदन आए पछि निवेदन उफर कारबाही गर्नै पर्यो । त्यसमा प्रहरीले कुनै नियम कानुन मिचेर कार्य गरेको देखिदैन ।”
परिवारले भनेजस्तो आफूहरुले कुनै यातना नदिएको प्रहरीको भनाई छ ।