काठमाडौँ । ‘नेपाल स्वास्थ्य फूड इन्डष्ट्री’ प्रालि, बिराटनगरले तयारी खाजाका नाममा ‘सडे-गलेका’ खाद्यबस्तु बिक्री बितरण गर्दै आएको पाइएको छ । सुनसरीको हरीनगर गाउँपालिका, वडा नम्बर-४ स्थित गुरुकुल आधारभूत विद्यालयका विद्यार्थीले खाँदै आएको खाजामा ‘किरा’ र ‘ढुसी’ भेटिएपछि उक्त तथ्य बाहिरिएको हो ।
केही दिन अघि विद्यार्थीहरुलाई खाजा खुवाउने क्रममा किरा भेटिएको गुरुकुल आधरभूत विद्यालयका प्रधानध्यापक गणेश शाहले बताए । उनले भने, ‘हामीले १५/२० दिन देखि ‘नेपाल स्वस्थ्य फूड’को तयारी खाजा विद्यार्थीलाई खुवाउँदै आएका थियौँ । तर, हिँजो एक जना विद्यार्थीले खाँदै गरेको खिचडीमा किरा भेटियो । किरा कहाँबाट आयो, हामीलाई थाहा भएन ।’
खाजामा किरा भेटिएपछि तुरुन्तै उत्पादक कम्पनी ‘नेपाल स्वास्थ्य फूड इन्डष्ट्री’को कार्यलयमा फोन गरेर जानकारी गराएको उनले बताए । ‘शिक्षा कार्यालयको समन्वयमा उक्त खाजा खुवाउँदै आएका थियौँ । तर खाजामा किरा भेटिएपछि त्यो खाजा रोक्ने कि भनेर छलफल गर्दैछौँ,’ उनले भने ‘स्वास्थ्य फूडका प्रतिनिधिले हामीलाई १३ कार्टुन खाजा छोडेर गएका थिए । केही कार्टुन बाँकी छन्, उनीहरुले ति फिर्ता लिन्छौँ भनेका छन् ।’

कम्पनीले खाजाको रुपमा पठाएको मखनामा समेत ‘ढुसी’ भेटिएको उनले बताए । एउटा प्याकेटमा ढुसी भेटिए पछि अन्य प्याकेट नखोलिएको र सबै प्याकेट कम्पनीलाई फिर्ता गरिने उनले जानकारी दिए ।
पालिकाका ३३ वटा सामुदायिक विद्यालय मध्ये ७ वटा विद्यालयमा सोही कम्पनीको खाजा खुवाइरहेको शिक्षा शाखा अधिकृत गणेश प्रसाद गौतमले जानकारी दिए । आफु बिदामा रहेकाले खाजामा किरा भेटिएको बारे आफुलाई कुनै जानकारी नभएको उनले बताए ।
उनले भने, ‘हाम्रा विद्यालयले उक्त कम्पनीको खाजा खुवाउन सुरु गरेको केही दिन मात्रै भएको छ । खाजा राम्रै छ भनेरै राखिएको हो । तर खाजामा खराबी रहेछ भने हामी समक्ष आउला । त्यस्तो प्रमाण भेटिएको खण्डमा ‘नेपाल स्वास्थ्य फूड’का सबै खाजा रद्ध गर्नेछौँ ।’
सुनसरीमा ‘खाद्य गुणस्तर’ परिक्षण केन्द्र रहेको र उक्त खाजाको गुणस्तर परिक्षण गरिने उनले बताए । परिक्षणका क्रममा कुनै खराबी भेटिएको खण्डमा सम्वन्धित कम्पनीका बिरुद्धमा समेत कदम चालिने उनको भनाई छ ।
शिक्षा अधिकृत गौतमले अभिभावकसंग समन्वय गरी स्थानीय उत्पादनमा आधारित खाजा लागु गरिने र बाल-बच्चाको स्वस्थ्यसंग खेलवाड गर्ने जुनसुकै कम्पनीका खाजा तुरुन्तै बन्द गरिने समेत बताए ।
यता, हरीनगर गाउँपालिकाका शिक्षा शाखा व्यवस्थापक अजित मल्लिकले उक्त खाजामा भेटिएको किरा ‘किरा’ नभइ किरा जस्तो देखिने खाद्य सामाग्री भएको जिकिर गरे । उनले भने,-‘त्यो विषय मैले आज भर्खरै थाहा पाएँ । खाजामा किरा भेटिएको होइन । किरा जस्तो देखिने खाने कुरा हो ।’
खिचडीमा भेटिएको ‘किरा’ जस्तो खाने कुरा के हुन सक्छ? भन्ने प्रश्नमा उनले भने, ‘खिचडीमा राख्ने मसला हुन सक्छ । अथवा अरु केही खान मिल्ने बस्तु हुन सक्छ । त्यो खाने कुरा नै हो, किरा त हुँदै होइन ।’
तर, दियोपोष्टलाई प्राप्त भिडियोमा उक्त खाजामा प्रष्ट रुपमा किरा देखिएको छ । व्यवस्थापक मल्लिकले कमिसनका आधारमा ‘नेपाल स्वस्थ्य फूड’द्वारा उत्पादित तयारी खाजा बिभिन्न सामुदायिक विद्यालयमा लागु गराउन पहल गरेको बताइन्छ ।
त्यसैले पनि उनले कम्पनीको बचाउँमा अभिव्यक्ति दिइएको पाइन्छ ।

यता, नेपाल स्वास्थ्य फूडका एक प्रतिनिधिले भने आफुहरुको खाजामा त्यस्तो समस्या नभएको बताए । उनले भने, ‘हाम्रो खाजामा कुनै केमिकल प्रयोग भएको हुँदैन । केमिकल नभएको हुँदा खोलेर राखेको प्याकेटमा बाहिरबाट किरा छिरेको हुन सक्छ । तर, त्यो खाजा बिग्रेको भन्न सकिदैँन ।’
देशका ७ वटै प्रदेशका बिभिन्न स्थानीय निकायका केही विद्यालयले ‘नेपाल स्वास्थ्य फूड इन्डष्ट्री’को खाजा खुवाउँदै आएको कम्पनीका बजार ब्यवस्थापक खुस्बु सिंङले बताइन् । आफ्नो कम्पनीमा उत्पादित खाजामा प्रशस्त पौष्टिक तत्व भएको र खाद्य गुणस्तर बिभागले तोके अनुसारको मापदण्ड पुरा गरेको उनको तर्क छ ।
तर, केही समय अघि सोही कम्पनीको खाजा खाँदै आएका रोल्पा परिवर्तन गाउँपालिकास्थित एक विद्यालयमा दर्जनौँ बाल-बालिकालाई जण्डिस भएको भन्दै अभिभावकहरुले गुनासो गर्दै आएका थिए । सो विद्यालयको व्यवस्थापन समिति र उत्पादकबीचको मिलोमतोमा उक्त विषय लुकाइएको थियो ।

उक्त कम्पनीको खाजा हरेक विद्यालयमा लागु गराउन देशभरका पालिका र वडा स्तरसम्म राजनीतिक पार्टीका नेता कार्यकर्तादेखि बिचौलिया समेतले कमिसन लिने गरेको स्रोतको दाबी छ । कम्पनीले आफुले उत्पादन गरेको खाजा लागु गराउन बिचौलिया प्रयोग गर्ने गरेको स्रोत बताउँछ ।
कम्पनीले विद्यालय खाजा कार्यक्रम लागु भएका देशभरका केही विद्यालयमा खिचडी, खिर, हलुवा, मखना, पोहा तथा बिरयानी लगायतका तयारी खाजा उत्पादन गरि बिक्री बितरण गर्दै आएको छ ।
नेपाल सरकारले देशभरीका सरकारी विद्यायमा पढ्ने कक्षा १ देखि ५ सम्मका बालबालिकाका लागि ‘दिवा खाजा’ कार्यक्रम लागु गरेयता उक्त कम्पनीले बिभिन्न विद्यालयमा समन्वय गरि खाजा उपलब्ध गराउँदै आएको थियो ।
भिडियो हेर्नुहोस्: