काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको जगाती नाका हुँदै काठमाडौँ उपत्यका भित्रिने तरकारी तथा फलफूलको नमुना संकलन गरी बिषादी परीक्षण गरेको छ।
२०८२ असार २८ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म जगाती नाकामा नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिएको हो।
विभागका अनुसार टमाटर, सिमी, फर्सी, काउली, हरियो साग, गोलभेंडा, बन्दाकोबी, लौका, करेला, खुर्सानी, स्याउ र आँप गरी १२ वटा तरकारी तथा फलफूलको नमुना परीक्षण गरिएको थियो। ति नमुना परिक्षण गर्दा विषादी नभेटिएको विभागले जनाएको छ ।
ती तरकारी तथा फलफूल पाँचखाल, काभ्रे, दोलखा तथा तराई क्षेत्रलगायतका स्थानबाट उत्पादन भई कालिमाटी, बालाजु, कलंकी, टंगाल, बानेश्वर र विभिन्न फलफूल बजारतर्फ ढुवानी भइरहेका थिए।
परीक्षण गरिएका सबै नमुना बिषादी नभेटिएको र स्वीकृत मापदण्डभित्र रहेको पाइएको विभागले जनाएको छ । यसका आधारमा ती तरकारी तथा फलफूल उपभोगका लागि सुरक्षित रहेको विभागको निष्कर्ष छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै मुख्य नाकाहरूमा नियमित रूपमा यस्ता परीक्षण तथा अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।