रूपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा भेटियो शव

दियोपोस्ट संवाददाता

काठमाडौँ । रूपन्देहीमा एक १७ वर्षीय किशोरको बिभत्स हत्या भएको छ। जिल्लाको कञ्चन गाउँपालिका–३ का  स्थानीय ईशान शर्मा पौडेलको हत्या भएको हो ।

बुधवार साँझ ८ बजेदेखि सम्पर्कविहीन भएका इशानको खोजीकै क्रममा बिहीबार साँझ धौलागिरीचोकस्थित नालीमा शव फेला परेको स्थानीयले बताए ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ईशानको शव बिहीबार साँझ करिब ६ बजेतिर स्थानीयले नालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय रुद्रपुरको टोली तत्काल घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले ईशानको टाउकोमा प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको जानकारी दिए। घटनास्थलबाट शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि बुटवल पठाइएको छ।

बुद्धदिप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत ईशान घरका एक मात्र छोरा थिए । हत्याका कारण खुल्न नसकेको उपरीक्षक क्षेत्रीले बताए।

प्रहरीले घटनास्थल वरपरको क्षेत्रलाई घेराबन्दी गरी अनुसन्धान तीव्र बनाएको र स्थानीयसँग सोधपुछ भइरहेको उनको भनाई छ ।