काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त हुने भएपछि उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक अभिव्यक्ति व्यक्त गरेकी छन्। बिहीबार लामो स्टाटस लेख्दै उनले पछिल्लो एक वर्ष आफूहरूले भोग्नुपरेको मानसिक, सामाजिक र कानुनी संघर्षको चित्रण गरेकी हुन्।
निकिताले स्टाटसमा बेइमानी र प्रतिशोधको राजनीतिका कारण नखाएको विष पनि लाग्ने अवस्था आएको उल्लेख गरेकी छन्। रवि राजनीतिमा नआएको भए यसरी प्रतिशोधको सिकार हुन नपर्ने भन्दै उनले बढ्दो जनविश्वास कमजोर पार्न योजनाबद्ध रूपमा फसाइएको र अदालतको आदेशसँगै त्यसको एक अध्याय समाप्त भएको टिप्पणी गरेकी छन्।
उनले यस अवधिमा रविले ‘कालकोठरी’ भोग्नुपरेको र आफूले उनको अनुपस्थितिमा गहिरो रिक्तता महसुस गर्नुपरेको उल्लेख गरेकी छन्। सामान्य व्यक्तिले यस्तो पीडा सहन नसक्ने भए पनि रविले हाँसीहाँसी प्रतिशोध सहँदा आफूले कानुनी रूपमा सम्भव सबै प्रयास गरेको उनको भनाइ छ।
निकिताले भगवानप्रतिको आस्था र विश्वासकै कारण यो दिनको प्रतीक्षा गरेको बताउँदै ढिलै भए पनि न्यायको अनुभूति भएको उल्लेख गरेकी छन्। यद्यपि कानुनी प्रक्रिया अझै बाँकी रहेको र यस राहतलाई दीर्घकालीन न्यायमा परिणत गर्न थप संघर्ष आवश्यक रहेको उनको भनाइ छ।
