
काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ मा बसोबास गर्दै आएका कपिलवस्तु शिवराज नगरपालिका-५ घर भएका ५४ वर्षीय पवित्र प्रकाश अधिकारी, सोही वडामा बस्ने भोजपुर षडानन्द नगरपालिका-१२ घर भएकी ३३ वर्षीया बबिता विश्वकर्मा र काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ मा बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-९ घर भएका २५ वर्षीय साईरज सुबेदी रहेका छन्।
प्रहरीका अनुसार पवित्रले अल्बानिया पठाइदिने भन्दै चार जना पीडितबाट १९ लाख रुपैयाँ, बबिताले क्यानडा पठाइदिने भन्दै दुई जना पीडितबाट १९ लाख रुपैयाँ र साईरजले अमेरिका पठाइदिने भन्दै तीन जना पीडितबाट ११ लाख १४ हजार पाँच सय रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले पवित्र र बबितालाई काठमाडौं महानगरपालिका-३२ बाट तथा साईरजलाई कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।