काठमाडौँ । मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का रामअशिष यादव निर्वाचित भएका छन्। सभामुख पदका लागि आइतबार प्रदेशसभामा भएको मतदानमा यादव विजयी भएका हुन् ।
केही समयदेखि रिक्त रहेको मधेस प्रदेश सभामुख पदमा नेकपा एमाले का त्रिलोकी प्रसाद र जनता समाजवादी पार्टी (नेपाल)का रामअशिष यादवले उम्मेदवारी दिएका थिए । सात दलीय गठबन्धनको समर्थन पाएका यादवले त्रिलोकी प्रसादलाई हराउँदै सभामुख पदमा विजयी भए ।
रामअशिष यादवलाई सत्तारुढ सातदलीय गठबन्धन नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (नेपाल), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (लोसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी लगायत दलहरूले समर्थन गरेका थिए ।
यसअघिका सभामुख रामचन्द्र मण्डललाई अवधारणा विपरित व्यवहार गरेको आरोपमा महाअभियोग प्रस्तावद्वारा पदमुक्त गरिएकोले पद रिक्त भएको थियो ।