सुप्रिम सहकारी ठगी प्रकरण: पूर्वडीआईजी छविलाल जोशी तीन करोडको बैंक ग्यारेन्टीमा थुनामुक्त

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गोर्खा मिडियाका उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशी थुनामुक्त भएका छन् । जोशीले तीन करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएर थुनामुक्त भएका हुन् ।

बैंक ग्यारेन्टी बुझाएपछि रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लीराज शर्माको इजलासले जोशीलाई थुनामुक्त गर्न आदेश दिएको हो । अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार जोशीले एकमुष्ट तीन करोड रुपैयाँको बैंक ग्यारेन्टी पेस गरेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जोशीसहित रवि लामिछानेसमेतका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । अभियोगपत्रमा उल्लेखित चार भागमध्ये आफ्नो भागको बिगो बराबर रकम दाखिला गरेको कागजात पेस गर्दै लामिछानेले यसअघि २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत उच्च अदालतमा निवेदनसाथ पेस गरेका थिए । जोशीले पनि सोही अनुपातमा बिगो बराबरको जमानत पेस गरेका थिए ।

तर, जिल्ला अदालत रुपन्देहीले प्रतिवादीहरूको भागमा कति बिगो कायम हुने भन्ने विषय यकिन भइनसकेको भन्दै दुवैलाई रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो । त्यसपछि पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा थिए ।

यसबीच जेनजी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दासम्बन्धी फाइल भने सुरक्षित रहेको बताइएको थियो ।

जिल्ला अदालतको पछिल्लो आदेशसँगै छविलाल जोशीले अब कारागारबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने पाउने भएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा अन्य प्रतिवादीहरूको मुद्दा भने अझै अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

सिफारिस