विराटनगरस्थित ‘च्याम्पियन जोन’ र ‘गोल्डेन’ क्यासिनोका व्यवस्थापकसहित २० नेपाली पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । विराटनगरस्थित च्याम्पियन जोन क्यासिनो र गोल्डेन क्यासिनो क्यासिनोमा प्रहरीले छापा मारेको छ । क्यासिनोबाट व्यवस्थापकसहित २० जना नेपाली नागरिक पक्राउ परेका छन् ।

आइतबार राति विराटनगर–१५ स्थित बिग होटलमा सञ्चालित च्याम्पियन जोन क्यासिनो र विराटनगर–१३ स्थित रत्ना होटलमा रहेको गोल्डेन क्यासिनो मा एकसाथ छापा मारिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार छापाका क्रममा ‘च्याम्पियन जोन’ क्यासिनोबाट ६ जना र गोल्डेन क्यासिनोबाट १४ जना नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमसमेत रहेका छन्।

प्रहरीका अनुसार नेपालमा नेपाली नागरिकलाई क्यासिनो प्रवेश तथा जुवा खेल्न कानुनले निषेध गरेको भए पनि ती क्यासिनोमा नेपालीहरू संलग्न भई जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारिएको हो।

पक्राउ परेकाहरूलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी जुवा (क्यासिनो) सम्बन्धी ऐन अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साथै क्यासिनो सञ्चालन तथा व्यवस्थापनमा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे पनि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस घटनापछि विराटनगरमा सञ्चालनमा रहेका क्यासिनोहरूमा कानुनको कार्यान्वयन र निगरानी थप कडाइका साथ गरिने प्रहरीको भनाइ छ।