माइतीघरमा मिराज ढुङ्गाना समूहको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दर्जनौँ आन्दोलनकारी पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेन‑जी समूहले माइतीघर मण्डलामा गरेको प्रदर्शनको क्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जेनजी अभियन्ता डा. निकोलस भुसाल, रबिकिरण हमाल लगायत छन्।

काठमाडौँ प्रशासनले उक्त समूहलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति नदिएको बताएको छ। तर समूहका सदस्यहरूले प्रशासनको अनुमति नलिई प्रदर्शन गरेको भन्दै प्रहरीले सार्वजनिक स्थानमा अनुमति बिना सभा जुलुस नगर्न निर्देशन दिएको थियो।

सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीको राजीनामा माग, संवैधानिक सुधार र राजनीतिक स्थिरता सुनिश्चित, भ्रष्टाचार नियन्त्रण र न्यायिक प्रणालीमा सुधार लगायतका माग राखी उनीहरु आन्दोलनमा उत्रिएका थिए ।

जेनजी समूहले आफ्नो आन्दोलनलाई शान्तिपूर्ण बताएको थियो। तर प्रशासनले सार्वजनिक सुरक्षा र कानूनी प्रक्रिया उल्लंघन हुन नदिन हस्तक्षेप गरेको जनाएको छ।

आन्दोलनकारीहरूले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्नु लोकतान्त्रिक अधिकारको उल्लंघन भएको बताएका छन्।