अमेरिका पठाउने भन्दै ठगी गर्ने धादिङका सुजन आले मगर पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा धादिङका सुजन आले मगर पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका–४ मा बसोबास गर्दै आएका धादिङ निलकण्ठ नगरपालिका–१३ घर भएका २४ वर्षीय सुजन आले मगरलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो।

उनले अमेरिका पठाइदिने आश्वासन दिई एक जना पीडितबाट २ लाख ५५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–११ बाट उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका आले मगरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।