लघुवित्त र भूमि असमानताविरुद्ध मिटरब्याज पीडितले गरे राजधानीमा मार्चपास

दियोपोस्ट संवाददाता

काठमाडौँ । भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले राजधानीमा मार्चपास गरेको छ । समितिले मिटरब्याज, लघुवित्त र वित्तीय शोषण तथा भूमि असमानताका विरुद्ध आवाज उठाउँदै राजधानीमा मार्चपास गरेको हो ।

पीडित जनताको समस्या राज्यसामु स्पष्ट रूपमा राख्ने, अन्यायपूर्ण आर्थिक संरचनाको अन्त्य गर्न दबाब सिर्जना गर्ने र भूमि अधिकार सुनिश्चित गराउन सरकारलाई जिम्मेवार बनाउने उद्देश्यसहित समितिले सोमबार उक्त मार्चपास आयोजना गरेको समितिले बताएको छ ।

बल्खुबाट सुरु भएको मार्च त्रिपुरेश्वर, शहीदगेट हुँदै शान्तिवाटिकासम्म पुगेको थियो। मार्चपासमार्फत उनीहरूले प्रधानमन्त्रीलाई मागपत्र पेश गर्ने, मिटरब्याज र लघुवित्तका नाममा भइरहेको शोषण रोक्न ठोस कदम चाल्न आग्रह गर्ने तथा भूमि अधिकार र सामाजिक न्यायका लागि भइरहेका जनवर्गीय आन्दोलनहरूबीच मोर्चाबन्दी गर्दै संघर्षलाई थप सशक्त बनाउने लक्ष्य लिएको बताएका छन्।