
काठमाडौं । महिलामाथि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोग गरी ‘बदनामी’ तथा ‘चरित्रहत्या’ गरेको आरोपमा पक्राउ परेका एमाले नेता ऐन महर धरौटीमा रिहा भएका छन्।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत कसुर गरेको आरोपमा महरविरुद्ध दायर मुद्दामा काठमाडौं जिल्ला अदालतले एक लाख धरौटीमा रिहा गरेको हो।
बझाङकी रश्मिला धामीले आफुमाथि बदनामी तथा चरित्रहत्या गरेको आरोप महर र उनकी श्रीमती अनुजा श्रेष्ठविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी थिइन्। जाहेरीमा सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोग गरी बदनामी तथा चरित्रहत्या गरिएको आरोप लगाइएको छ।
उक्त जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत मुद्दा दायर गरेको हो।
सोही मुद्दामा महरकी श्रीमती अनुजा श्रेष्ठलाई भने साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। अदालतमा सोमबार भएको पेसीमा उनको हकमा थुनछेक बहस नसकिँदा नियन्त्रणमा लिइएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए।
अदालतमा दर्ता भएको उक्त मुद्दामा अब कानुनी प्रक्रिया जारी रहने जनाइएको छ।
महरविरुद्ध सोही कसुरमा यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि केही समय उनी फरार अवस्थामा थिए। पछि उनी साइबर ब्युरोमा उपस्थित भएपछि पक्राउ गरी अदालतमा पेश गरिएको थियो।